
काठमाडौं ।
बिहीबार अनलाइन फाराम भर्न खुलेको राहदानी विभागको सर्भर १० सेकेन्ड जति मात्र चल्यो । १० सेकेन्डमा नै तोकिएको कोटा पूरा हुने सङ्ख्यामा आवेदन आएपछि सर्भर बन्द भएको हो।
राहदानी लिनका लागि आवेदकले फाराम भर्न अनलाइनको सुविधा छ तर व्यवहारमा भने त्यस्तो अनलाइन दुःख दिने मात्र बनेको छ। विभागले राहदानी फाराम भर्न दैनिक एक हजार सात सय आवेदनको कोटा तोकेको छ। त्यो पनि बिहान ११ बजेभित्र भरिसक्नुपर्छ।
अनलाइन फाराम भर्ने अवधि छोटो हुँदा व्यक्तिगत रूपमा फाराम भर्ने मात्र होइन, साइबरका कारिन्दा पनि हैरान देखिए। विभागबाहिर रहेका दुईओटा साइबरमा बिहीबार बिहानैदेखि फाराम भर्नेको लर्को रहेकोमा ११ बजे साइबरको काउन्टरमा पुगेका यामबहादुर सिञ्जालीको व्यक्तिगत विवरण भर्न नपाउँदै विभागको सर्भर बन्द भयो।
“एउटा फाराम पनि भर्न नपाउने कस्तो थोरै समय हो ?,” सिञ्जालीले प्रश्न गरे। फाराम भर्न बसेका साइबरका कारिन्दाले झर्केर भने, “त्यो मलाई नसोध्नुस् विभागलाई सोध्नुस्, मैले गरेको होइन।” सिञ्जालीको पुरानो एमआरपीको म्याद सकिएकाले नयाँ बनाउन विभाग आएका हुन्।
व्यवहारमा अनलाइन फाराम भर्ने समय एउटा पनि फाराम भर्न नपाई सर्भर बन्द हुने गरेको छ। सबै कागजपत्रको छायाँप्रति तयार गरेर कम्प्युटरमा बस्दा पनि फाराम भर्न अनलाइनमा प्रवेश नै नपाइने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।
आफैँले भर्न नसक्ने भएपछि अनलाइन फाराम साइबरमा भर्न पुगेका सेवाग्राही बिहीबार १० सेकेन्डमै सर्भर बन्द भएपछि अलमलमा परे। धेरै जना दिउँसो फेरि खुल्छ भन्ने साइबरवालाको आश्वासनमा भोकभोकै लाइनमा बसे तर नखुलेपछि फर्किए।
काठमाडौँको बौद्धकी दावु शेर्पाले भनिन्, “फाराम भर्न अनलाइनमा कुरेर बस्दा १० देखि तीस सेकेन्डमै बन्द हुन्छ, आमाको फाराम भर्न नसकेपछि साइबर धाउनु पर्यो ।” आफैँले कैयौँ पटक भर्न कोसिस गर्दा अन्तर्वार्ताको मिति नपाएपछि बाध्य भएर उनी साइबरको शरणमा पुगेकी हुन्।
उनले विद्युतीय राहदानी भर्खर लागू भएका बेला आफ्ना लागि आफैँले फाराम भरेकी थिईन्। त्यो बेला आरामले भरेको सुनाए। लमजुङका रविन पण्डितको समस्या बेग्लै छ। साइबरमा लामो समय फाराम भर्न नसकेपछि कम्प्युटर जान्ने एक जना आफन्तमार्फत बल्लतल्ल फाराम त भरे तर अन्तर्वार्तासँगै फोटो खिच्ने मिति पाउन सकेका छैनन्। त्यसका लागि उनी बारम्बार साइबर धाउँदै छन् । जिल्लामा ढिला हुने भएपछि विभाग आएका जनकपुरका अवधेशकुमार मल्ल अन्योल व्यक्त गर्छन्, “खै कतिखेर खुल्छ र भरौँला भनेर बिहानैदेखि बसेको समय सकियो भन्छन् ।”
यस्तै हालत सिन्धुपाल्चोककी डोल्मा तामाङलगायत धेरै सेवाग्राहीको छ। सेवाग्राही हैरान भएपछि विभागको हटलाइन नम्बर ९८५१३२६८०१ मा फोन गरेर सोध्दा प्रतिदिनको फारामको कोटा सकिएकाले बन्द भएको जवाफ पाउने गरेका छन्।
विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले भने< “देशभरका मानिसले अनलाइन बसेर कोसिस गरिरहेका हुन्छन्, दिनको एक हजार सात सयको कोटा सकिनासाथ सर्भर आफैँ बन्द हुन्छ।”
उनका अनुसार अनलाइन प्रणालीमा प्रवेश गरेर भर्न थालेकाले भर्ने समय पाउँछन्। त्यसबाहेक कोटा सकिएपछि प्रवेश गर्न खोज्नेका लागि बन्द हुने हो। समयमा विभागको सर्भरले धान्न सक्नेभन्दा फाराम भर्नेको माग उच्च हुने गरेको छ।
हरेक जिल्ला प्रशासनबाट अनलाइन फाराम भर्ने व्यवस्था भए पनि धेरै मानिसले विभागबाट भर्ने गर्दा धान्न गाह्रो भएको महानिर्देशक यादवले बताए । सर्वसुलभ बनाउन प्रणाली सुधारसहित थप पहल भइरहेको जानकारी उनले दिए।
विभागले औसतमा दिनको दुई हजार बढीलाई सेवा दिन्छ । हरेक दिन देशभरका जोड्दा छ हजार जना सेवाग्राहीलाई सेवा दिएको दाबी विभागले गरेको छ । गोरखापत्रबाट
प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार