
काठमाडौं ।
मोटरसाइकल तथा स्कूटरमा मोबाइल स्ट्यान्ड राखेर सवारी चलाउने माथि ट्राफिक प्रहरीले कारबाही तीब्र पारेको छ।
सवारीमा मोबाइल स्ट्यान्ड राख्नेलाई ट्राफिक प्रहरीले लापरवाहीका साथ सवारी चलाएको आरोपमा जरिवना लगाउन शुरु गरेको हो।
लापरवाहीका साथ सवारी चलाउनेलाई ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने यातायात व्यवस्था ऐन, २०४९ मा व्यवस्था छ।
दुई पांग्रे सवारीसाधनमा मोबाइल राखेर चलाउँदा चालकको ध्यान भट्किएर दुर्घटनाको जोखिम बढेकाले अभियानकै रुपमा कारबाही शुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
‘सवारी साधनमा मोबाइल राखेर हेर्दै चलाउँदा ध्यानभंग हुन्छ। मोबाइल हेर्ने र अन्य व्यक्तिको ध्यानभंग हुँदा दुर्घटना बढ्छ। यात्रु ओसार पोसार गर्दे सवारी चालकले आफू हिड्ने बाटो घाटो दिमागमै सेट गर्नु पर्छ,’ प्रवक्ता भट्टले भने, ‘म्याप हेर्दै सवारी चलाउँदा दुर्घटनाको सम्भावना बढेकाले हामीले अभियान शुरु गरेका हौं।’
राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएका दुई पांग्रे सवारी चालकले मोबाइल स्ट्यान्ड राख्ने गरेका छन्। सवारी चलाउँदा ध्यानभंग हुने काम गर्नु हुँदैन भन्ने जानकारी दिनका लागि ट्राफिकले कारबाही शुरु गरेको हो। यदि सवारी चालकले अटेरी गरे स्वरुप परिवर्तन अन्तर्गत कारबाही पनि अघि बढाउन सकिने उनको आशय छ। यदि स्वरुप परिवर्तन अन्तर्गत कारबाही गरिए अधिकतम ५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ।
सवारीको अग्रभागमा मोबाइल राखेर चलाउँदा दुर्घटनाको संख्या वृद्धि भएकाले त्यसलाई कम गर्न कारबाही तीब्र पारिएको उनले बताए। मात्रा बढेकाले त्यसलाई कम गर्न ट्राफिक प्रहरीले
मोबाइल स्ट्यान्डकै कारण दुर्घटनाको संख्या कति मात्रले बढेको भन्ने यकिन डाटा ट्राफिक प्रहरी छैन। तर पछिल्लो समय दुर्घटनाको संख्या बढ्दो क्रममा रहेको छ।
राइड सेयर सेवा पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारको प्रचलित कानून बमोजिम निर्णण भैसकेको बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइको स्वरुप परिवर्तन (मोडिफिकेसन) हो। र सोही कारण बाइकमा राखिएका मोबाइल स्ट्यान्ड हटाउनन भनी केही दिन अगाडि उपत्यका ट्राफिक प्रहरी कार्यालबाट पठाओ नेपाललाई सूचना प्राप्त भएको थियो।
‘ प्रहरीको आदेश बमोजिम हामीले उक्त सूचना हाम्रा राइडर र फुडम्यान साथीहरूलाई गत सोमबारदेखि जानकारी गराएका छौँ। तर कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनी गुनासोहरु आइरहेको छ। हामी हाम्रा अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ पठाओको विज्ञप्तिमा लेखिएको छ।
प्रकाशित: १६ भाद्र २०७९, बिहीबार