आईएसएम ब्याण्ड दूरुपयोग गर्ने शिखर नेटलाई जरिवाना, ठूला आईएसपीहरु पनि ‘वाचलिस्ट’मा

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार
आईएसएम ब्याण्ड दूरुपयोग गर्ने शिखर नेटलाई जरिवाना, ठूला आईएसपीहरु पनि ‘वाचलिस्ट’मा

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आईएसएम ब्याण्डको तोकिएको परिधि भन्दा बाहिरको फ्रिक्वेन्सी प्रयोग गर्ने एक इन्टरनेट सेवा प्रदायक(आईएसपी) लाई कारबाही गरेको छ।

प्राधिकरणले हालै धनगढी उपमहानगरपालिका ४ कैलालीमा रहेको शिखर नेट प्रालिलाई जरिवानासहित कारबाही गरेको हो।

सो सेवा प्रदायकले प्रयोग गरेका वायरलेस डिभाइसहरुमा अनुमतिपत्रका शर्तमा तोकिए बमोजिमको आईएसएम ब्याण्डको परिधि भन्दा बाहिर गएर सेवा संचालन गरेको अनुगमनको क्रममा भेटिएको थियो।

सोहि आधारमा नियमनकारी निकायको भदौ ५ गतेको बोर्ड बैठकले शिखर नेटलाई दूरसञ्चार ऐन २०५३ को दफा ४७ (२) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गराएको छ।

प्राधिकरणले यसका साथै आईएसएम ब्याण्डको परिधिमा रहे डिभाइस संचालन गर्न र अनुमति पत्रको शर्तअनुसार सेवा संचालन गरी जानकारी गराउन समेत निर्देशन दिएको छ।

पछिल्लो समय प्राधिकरणले इन्डस्ट्रियल, साइन्टिफिक एण्ड मेडिकल (आईएसएम) ब्याण्डको २.४ गीगाहर्जदेखि ५.८ गीगाहर्जको परिधिभित्र इन्टरनेट सेवा प्रदायकहरुको डिभाइस भए नभएको अनुगमन गर्न शुरु गरेको छ। सोहि अनुगमनको क्रममा शिखर नेटमा सो परिधिभन्दा बाहिरको फ्रिक्वेन्सी प्रयोग भएको भेटिएको थियो।

“अनुगमनको क्रममा एउटा आईएसपीको मात्र भेटिएको भएपनि काठमाडौं भित्रै ठूला सेवा प्रदायकहरुले समेत त्यस्तो फ्रिक्वेन्सी दूरुपयोग गरेको जानकारी आएको छ,” प्राधिकरणका एक उच्च अधिकारीले टेक्नोलोजीखबरसँग भने, “ती वाचलिस्टमा छन् र अनुगमन गरेर त्यस्ता आईएसपीहरुलाई पनि छिटै कारबाही गर्नेछौं।”

उनले आईएसएम ब्याण्डको तोकिएको परिधि भित्र रहेर मात्र डिभाइस संचालन गर्न र प्राधिकरणको अनुमति पत्रको शर्त पालना गर्न सबै सेवा प्रदायकहरुलाई आग्रहसमेत गरेका छन्।

यसअघि ब्रोडब्याण्ड सोलुसन्स प्रालिलाई समेत आइएमएस ब्याण्डको परिधि बाहिर रहेर सेवा संचालन गरेकोमा कारबाही गरिएको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

आइएसएम ब्याण्डको परिधि बाहिरको उपकरण प्रयोग गरेपछि ब्रोडब्याण्ड सोलुसन्स कारबाहीमा

प्राधिकरणले नेपालमा भित्रने राउटर/ओएनयूलगायतका वायरलेस डिभाइसहरुमा प्रयोग हुने आईएसएम ब्याण्डको लागि २.४ गीगाहर्जदेखि ५.८ गीगाहर्जको परिधिलाई निशुल्क उपयोग गर्न सकिने स्पेक्ट्रमको रुपमा खुला गरेर अनुमति दिँदै आएको छ। त्यस्ता डिभाइसहरु नेपालमा आयात गर्दा आईएसएम ब्याण्ड उल्लेख गरेर दूरसंचार प्राधिकरणबाट अनुमति लिनुपर्ने हुन्छ।

त्यस्ता ब्याण्ड भित्र रहेका डिभाइसहरु प्रयोग गर्दा छुट्टै स्पेक्ट्रम दस्तुर तिर्नुपर्दैन्। तर त्यस भन्दा बाहिरका स्पेक्ट्रमहरुलाई प्रयोग गर्दा छुट्टै दस्तुर तिर्नुपर्ने र अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ।

यस्ता ब्याण्ड भएका डिभाइसहरुमा वाईफाई डिभाइस, ब्लूटूथ डिभाइस, नियर फिल्ड कम्युनिकेसन्स डिभाइस, कर्डलेस फोनलगायत पर्दछन्।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार