
काठमाडौं ।
आगामी निर्वाचनको लागि इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्न मेसिन निर्माताले सरकारलाई आग्रह गरेका छन्।
प्रविधिको युगमा पनि कागजमा स्वस्तिक छापले मतदान गर्नुपर्ने र एक–एक गरेर गणना गर्दा समस्या बढी भएकोले इलेक्ट्रोनिक भोटिङ मेसिन निर्माता नेपाली दाजुभाई राम रिमाल/लक्ष्मण रिमालले आग्रह गरेका हुन्।
काठमाण्डौमा सोमबार आयोजित भेटघाट कार्यक्रममा राम/लक्षमणले, आफूहरूले बनाएको ‘इलेक्ट्रिोनिक भोटिङ मेसिन’ देशका कुनै पनि संसदीय चुनाव क्षेत्रमा प्रयोग गर्ने अवसर चाहेको बताएका हुन्।
चुनावी सुधारका लागि निर्वाचन आयोगले २०६४ सालको निर्वाचनमा एक चुनाव क्षेत्रमा इलेक्ट्रोनिक भोटिङ मेसिन ‘ट्रायल’ गरेको थियो। आयोगले मेसिनको प्रयोग सफल भएको निष्कर्ष निकालेको थियो। तर, यसपछि आयोगले चुनावमा मेसिन प्रयोग गरेका छैनन्।
भेटघाटमा राम/लक्ष्मणले भने, ‘निर्वाचन आयोगले एउटा मात्र चुनाव क्षेत्रमा हामीले बनाएको मेसिनको प्रयोग गर्न दिए झन्झटिलो चुनावी प्रक्रिया अन्त्य हुनेछ।’
भोटिङ मेसिनले मतदान र मत गणना छोटो समयमै सकिने भएपनि निर्वाचन आयोगले यसपालिको निर्वाचनमा प्रयोग हुने योजना कुनै नहुने जनाएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुर्य अर्यालले टेक्नोलोजिखबरसँग कुरा गर्दै भने,‘आयोगको इतिहासमा पहिलो पटक प्रयोग भएपनि प्राविधिक रुपमा उत्पन्न विवादले समस्या भएको हो, तर प्रविधिमा जानुपर्छ, यसपाली योजना छैन।’
प्रविधिको विकासमा लागेको सरकारले यसैमा अनुसन्धान गर्दै मेसिन बनाउने युवालाई मापदण्ड मापन गरेर प्राथमिकता दिए समाज विकास हुने समाजशास्त्री डा. रूद्र अधिकारीले बताए।
प्रकाशित: १५ भाद्र २०७९, बुधबार