सीजीनेटले सार्वजनिक गरेको बण्डलिङ अफर नै गैरकानूनी, छानबिन गर्दै दूरसञ्चार प्राधिकरण

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
सीजीनेटले सार्वजनिक गरेको बण्डलिङ अफर नै गैरकानूनी, छानबिन गर्दै दूरसञ्चार प्राधिकरण
सीजीनेटको नयाँ अफरहरु र सेवाहरुको बारेमा घोषणा गर्दै चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरी। फाइल तस्बिर

काठमाडौं ।

हालै सीजी कम्युनिकेसन्स लिमिटेडले सार्वजनिक गरेको सीजीनेट अन्तरगतको इन्टरनेट सेवासहितको बण्डलिङ अफर गैरकानूनी र नियमनकारीले दिएको निर्देशन विपरितको भएको खुलासा भएको छ।

इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायकको अनुमति पाएको सीजी कम्युनिकेसन्सले नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन विरुद्ध गएर सेवाको वण्डलिङ्ग गरेको भन्दै प्राधिकरणले कम्पनीलाई त्यस बारेमा जानकारी माग गरेको छ।

सीजी कम्युनिकेसन्सले आईतवार मात्र आफ्नो इन्टरनेट सेवासहित आईपिटिभी र टेलिभिजनअफरसहित बण्डलिङ्ग सेवा घोषणा गरेको थियो। जसमा इन्टरनेट सेवा आईपिटिभी र टेलिभिजन सेटसहितका विभिन्न बण्डलिङ्ग अफर ग्राहकहरुका लागि सार्वजनिक गरेको थियो।

सीजीनेटको बण्डलिङ्ग अफरको प्रचारात्मक सामग्री ।

सम्बन्धित समाचार-

सिजी नेटले ल्यायो आईपीटिभी सेवा, ‘जोडी’ योजना शुरु

तर सो घोषणा दूरसञ्चार प्राधिकरणले यसअघि सबै सेवा प्रदायकहरुलाई दिएको निर्देशन विपरितको भएको भन्दै कारबाहीको प्रकृया शुरु गरेको छ।

प्राधिकरणले यस बारेमा कम्पनीलाई सोमबार नै पत्र पठाएर जानकारी माग गरेको एक अधिकारीले टेक्नोलोजीखबरलाई बताए।

यसअघि प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई प्रमुखरुपमा ३ बुँदे निर्देशन दिँदै बण्डलिङमा सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

त्यसबेला सेवा प्रदायकहरुले हाल गरिरहेको बण्डलिङ सेवाहरु सबै गैरकानूनी हुने र त्यस्ता सेवाहरु तत्काल बन्द गर्न निर्देशन दिएको थियो ।

यसका साथै त्यस्ता बण्डलिङ सेवाहरु नदिन समेत भनिएको थियो।प्राधिकरणले सो कार्य अनुमति पत्रको शर्त विपरित हुने भन्दै त्यसमा रोक लगाएको थियो ।

सो पत्रमा प्राधिकरणले निर्देशन दिँदै सबै आईएसपीहरुलाई “हाल संचालन गरिरहेको इन्टरनेट सेवा र टिभी, ओएनयू तथा राउटरलगायतका प्याकेज बनाएर केहि सेवा निशुल्क समेत प्रदान गर्ने गरी बण्डलिङ्ग गर्नु गैरकानूनी हुने तथा यसरी बण्डलिङ गर्नु ‘क्रस सब्सिडि’ गर्न नहुने भन्ने अनुमतिपत्र शर्तको मर्म विपरित हुने भएकोले यस्तो कार्य तत्काल बन्द गर्ने।” उल्लेख छ।

सम्बन्धित समाचार-

इन्टरनेट सेवा प्रदायकले संचालन गरिरहेका सबै बण्डलिङ सेवाहरु गैरकानूनी, तत्काल बन्द गर्न निर्देशन

तर सीजीले सोहि निर्देशनअनुसार गर्नुपर्नेमा सो नगरी आफूखुशी बण्डलिङ्ग सेवा घोषणा गरेको भन्दै प्राधिकरणले कारबाही शुरु गर्नका लागि प्रकृयागतरुपमा सीजीलाई पत्र पठाएको बताईएको छ।

सो पत्र सीजीलाई सोमबार नै दिईएको एक अधिकारीले जानकारी दिए।
प्राधिकरणले उक्त बण्डलिङ सेवाको बारेमा थप छानिबन गरेर आगामी कदम चालिने जानकारी दिएको छ।

प्राधिकरणका एक उच्च अधिकारीले अहिले कम्पनीको वेबसाइट र समाचारहरुमा आएअनुसार सीजीले गैरकानूनी कार्य गरेको देखिएको छ।

“निर्देशन भन्दा बाहिर गएर बण्डलिङ सेवा ल्याएको देखिन्छ। छानबिन र कम्पनीको जवाफ प्राप्त भएपछि मात्र अरु केहि भन्न सकिन्छ,” उनले भने हामी त्यस्ता गलत गर्ने सबै सेवा प्रदायकहरुलाई कारबाही गर्ने योजनामा छौं।”

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरुलाई दिएको निर्देशन पत्र-

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरुलाई दिएको निर्देशन पत्र।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...