काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं महानगरपालिको रत्नपार्कमा चार्जिङ उद्घाटन गरेको छ।
प्राधिकरणले तिजको दिन पारेर मंगलबार आज ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालद्वारा चार्जिङ स्टेसनको उद्घाटन समेत गराएको हो।
उद्घाटन गर्दै ऊर्जामन्त्री भुसालले चार्जिङ स्टेशनले विद्युतिय सवारी साधनको बढावा दिने भएकाले नेपालभर नै यो प्रणाली लागु गर्ने तयारीमा प्राधिकरण रहेको जनाइन्।
उनले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताईन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजीक्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताए।
रत्नपार्कको चार्जिङ स्टेसन १२० किलोवाट डीसी क्षमता रहेको र विद्युतीय सवारी १ घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने उनको भनाइ छ।
प्राधिकरणका सूचना अधिकारी भोलानाथ शर्माले विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको जानकारी दिए।
देशका मुख्य शहर र राजमार्ग गरेर विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने काम भइरहेको छ। जसअन्तर्गत ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि र साना कारहरूका लागि समेत चार्जर स्टेशन बनाउन लागेको विद्युत प्राधिकरणले जनाएको छ।
जसका लागि आवश्यक नेशनल सर्भिस प्रोभाइडर (एनएसपी) प्रणालीको स्थापना भएको प्राधिकरणले जनाएको छ। एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्नुका साथै चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्सप्रयोग गर्न सकिनेछ।
*हेडलाइन सम्पादित
प्रकाशित: १४ भाद्र २०७९, मंगलवार