
काठमाडौं ।
कास्की जिल्लामा सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी गर्नेको सङ्ख्या बढ्दै गएको छ। सामाजिक सञ्जालमा जो डिएका कतिपय नागरिक जान/अन्जान साइबर अपराधको सिकार हुने गरेका छन्।
यस्तो अपराधमा फस्नेहरूमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २१० जना महिला र १७९ जना पुरुषले अनलाइन ठगीको उजुरी दिएका थिए।
प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी २५ देखि ३५ उमेर समूहका व्यक्तिहरू बढी ठगिने गरेको बताउँछन्। गत आर्थिक वर्ष साइबर अपराध तथा ठगी कसुरमा ३८९ वटा मुुद्दा दर्ता भएका थिए। पछिल्लो समय प्रविधिको विकाससँगै विभिन्न व्यक्ति ठगीमा मुद्दा बढ्दो क्रममा रहेको उनको भनाइ छ।
“सामाजिक सञ्जालमध्ये सबैभन्दा बढी प्रयोग हुुने फेसबुक हो । दर्ता भएका ३८९ मुद्दामध्ये नक्कली फेसबुक अकाउन्ट (फेक) बनाएर ठगी गर्नेहरूको सङ्ख्या ९६ रहेको छ,” तिवारीले भने।
त्यस्तै , विभिन्न व्यक्तिको (समाजका चर्चित एवं हाई तथा लो–प्रोफाइल भएका व्यक्तिहरूको ) फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गर्नेको सङ्ख्या १२६ रहेको छ।
ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर, इमो जस्ता सामाजिक सञ्जालबाट चिट्ठा तथा उपहार परेको भन्दै ठगी भएको सङ्ख्या १२९ रहेको छ । महिला तथा पुरुषको नग्न तस्बिर प्रयोग गरेर ब्ल्याकमेल तथा स्क्यान्डल’ गर्ने, विभिन्न व्यक्तिलाई गाली बेइज्जत गर्ने सम्बन्धी ३८ ओटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी (प्राइभेट डाटा) सार्वजनिक नगर्न आग्रह गरेको छ।
“साइबर अपराध जटिल समस्या बनेको छ,” प्रहरी नायव उपरीक्षक तिवारीले भने, “तर नागरिक भने सचेत हुन सकेका छैनन्। अपरिचित व्यक्तिले तपाईंको आधिकारिक कागजपत्र, फोटो वा कुनै सोसल साइटको ओटीपी (वान टाइम पासवर्ड) माग्छ भने डबल भेरि फिकेसन गर्नुपर्छ।”
प्रकाशित: ११ भाद्र २०७९, शनिबार