काठमाडौं ।
अन्वेषकहरूको टोलीले भर्खरै पृथ्वीबाट करिब १०० प्रकाश वर्ष टाढा एउटा ग्रह पत्ता लगाएको छ, जुन पूर्ण रूपमा पानीले ढाकिएको मानिन्छ। अमेरिकी नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)का अनुसार यस ग्रहको नाम टीओआई-१४५२बी राखिएको छ।
यो पृथ्वीभन्दा करिब ७० प्रतिशत ठुलो हुनसक्छ र यो ‘गोल्डिलक्स जोन’ मा अवस्थित छ। ‘गोल्डिलक्स जोन’ को तापक्रम न त धेरै तातो छ न धेरै चिसो हुन्छ, जसका कारण ग्रहको सतहमा तरल पानी हुने अपेक्षा गरिएको छ।
नासाको ट्रान्जिटिङ एक्जोप्लानेट सर्भे स्याटेलाइट (टेस्स) को प्रयोगमार्फत अवलोकन गर्दै मोन्ट्रियल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले ‘सुपर-अर्थ’ पत्ता लगाएको घोषणा गरेको छ।
एक प्रेस विज्ञप्तिअनुसार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले थप अनुसन्धानमार्फत यो ग्रह ‘वाटर वर्ल्ड’ हुनसक्ने रोचक सम्भावनाबारे प्रकाश पार्न सक्ने बताएको छ।
यो ग्रह हाम्रो पृथ्वी भन्दा करिब पाँच गुणा ठूलो छ र यसको घनत्वले यो ग्रहमा ‘धेरै गहिरो महासागर’ रहेको संकेत गर्छ। यद्यपि यो ग्रह हाइड्रोजन र हिलियमको वातावरण भएको चट्टानी ग्रह पनि हुनसक्ने अनुमान छ।
टीओआई-१४५२बी (TOI-1452 b) ग्रहले आफ्नो रातो-बामपुड्के तारालाई हरेक ११ दिनमा एक पटक परिक्रमा गर्छ। यसले बाइनरी तारा प्रणालीलाई पनि परिक्रमा गर्छ, जसमा दुई ताराहरू छन र एक अर्कालाई हाम्रो सूर्यबाट प्लुटो ग्रहको करिब साढे दुई गुणाको दूरीमा परिक्रमा गर्छ।
यसबाहेक, द एस्ट्रोनोमिकल जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, मोन्ट्रियल विश्वविद्यालयका पीएचडी विद्यार्थी चार्ल्स क्याडियोक्सले टीओआई-१४५२बी हालसम्म भेटिएका समुद्र भएका ग्रहहरूको लागि उत्कृष्ट प्रतिनिधिहरू मध्ये एक भएको बताए। क्याडियोक्स यस अध्ययनको प्रमुख लेखक पनि हुन्। यो अनुमान गरिएको छ कि ग्रहको पिण्डको ३० प्रतिशत सम्म पानी हुन सक्छ।
यद्यपि, टीओआई-१४५२बी पानी भएको ग्रह हो कि होइन भनेर निश्चित हुन, वैज्ञानिकहरूले जेम्स वेब स्पेस टेलिस्कोप प्रयोग गर्नुपर्नेछ। जेम्स वेब टेलिस्कोपले मात्र यस ग्रहसँग सम्बन्धित सत्य प्रकट गर्न सक्छ। यो ग्रह वैज्ञानिकहरुको खोजका लागि अहिलेसम्मकै उत्कृष्ट उम्मेदवार रहेको बताइएको छ।
यो पृथ्वीको धेरै नजिक पनि छ, जसका कारण जेम्स वेबमार्फत सजिलै देख्न सकिन्छ। यो ब्रह्माण्डको यस्तो स्थानमा अवस्थित छ, जहाँ टेलिस्कोपले वर्षभर दृष्टि राख्न सक्छ।
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार