ब्रोडव्याण्डमा ९२.९% वित्तीय प्रगति हुँदा सूचना महामार्गमा २१.९% मात्र

Technology Khabar १० भाद्र २०७९, शुक्रबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले १५ अर्बभन्दा धेरै रकमसहित सञ्चार प्रविधिको लागि परियोजना तयार पारेको छ।

परियोजना अनुसार निर्माणका लागि विभिन्न सेवाप्रदायक कम्पनीसँग उक्त रकम सम्झौता गरेको हो।

तर सबैमा काम सन्तोषजनक नभएको देखिएको छ।

ब्रोडव्याण्ड परियोजनामा जम्मा ५ अर्ब ६७ करोड ५६ लाख ९१ हजार २७६ रूपैयाँ ३९ पैसाको सम्झौता भएको छ।

सो सम्झौता भएपनि हालसम्म ब्रोडब्याण्ड परियोजनाको लागि सेवा प्रदायकहरूलाई ५ अर्ब २८ करोड २४ लाख ६२ हजार ५१७ रूपैयाँ ९७ पैसा भुक्तानी भएको छ।

जसमा ९२.९ प्रतिशत वित्तीय प्रगति भएको दुरसञ्चार प्राधिकरणले जनाएको छ।

ब्रोडव्याण्डमा काम भएपनि सूचना महामार्गको काम सन्तोषजनक छैन।
नेपाल दुरसञ्चार प्राधिकरणले बिहिबार प्रकाशित गरेको विज्ञप्ति अनुसार सूचना महामार्ग परियोजनामा करिब १० अर्ब रूपैयाँ बराबरको परियोजना सम्झौता भएको हो।

धेरै रकमको सम्झौतामा २ अर्ब ९ करोड ३८ लाख ६७ हजार ६५ रूपैयाँ ६८ पैसा मात्र खर्च भएर काम भएको छ।

वास्तवमा भन्ने हो भने प्राधिकरणका अनुसार ९ अर्ब ८९ करोड १७ लाख रूपैयाँ सूचना महामार्ग परियोजनामा सम्झौता भएको थियो।

प्राधिकरणले ग्रामिण दुरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई ३ ओटा प्याकेजहरू मार्फत अगाडी बढाएको हो।

जसमा साउनसम्म २१.९ प्रतिशत रकम मात्र खर्च भएर काम भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया