
काठमाडौं ।
पहिलो डिजिटल बीमा सेवा प्रदायक इ-बीमा र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडवीच हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। इ-बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो।
सम्झौता अनुसार इ-बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै इ-बीमा खरिद गर्न सकिनेछ। सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन्।
हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे।
एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे। बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए ।
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार