
काठमाडौं ।
इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा टिभी कारखाना स्थापना गर्ने भएको छ।
परम्परागत धार्मिक विधिअनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास सम्पन्न गरिएको छ। सो समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कको उपस्थिति रहेको थियो।
यसैगरी समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समुहका अध्यक्ष र प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ्ग दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङ, मित्रराष्ट्र दक्षिण कोरियाका राजदूत पार्क चोँग सुक, रामग्राम नगरपालिकाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र अन्य स्थानीयहरुको समेत उपस्थिति थियो।
समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले भने, “हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडी टिभी कारखाना नेपाली जनता प्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो।”
गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोल्छाले भने, “यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ। कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ। यो हाम्रो सामसङसँगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो।”
यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्नेछ र स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको कम्पनीको भनाई छ।
कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ।
प्रकाशित: ८ भाद्र २०७९, बुधबार