
काठमाडौं ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले हाल फोरजी सेवा देशभर बिस्तार गरिरहेको कम्पनीको भुक्तानी नै रोकिदिएको खुलासा भएको छ।
कोभिड महामारी र लकडाउनका कारण फोरजी सेवा बिस्तारमा ढिलाई भईसकेको अवस्थामा उनले टेलिकमको फोरजी सेवा बिस्तारको काम पाएको चाइना कम्युनिकेसन्स सर्भिसेज इन्टरनेशनल लिमिटेड (सीसीएसआई)को भुक्तानी नै करिब एक महिनासम्म रोकिदिएको खुलासा भएको हो।
सेवा बिस्तारको अन्तिम चरणमा काम भईरहेको बेलामा प्रबन्ध निर्देशक पौडेलले भुक्तानी रोकिदिएको भन्दै कम्पनीले काम नै रोक्ने चेतावनी दिएको थियो।
सरकारी टेलिकम नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा प्रबन्ध निर्देशक(एमडी) नियुक्त पाएपनि काम गर्न नसकेको आरोप खेपिरहेको बेला पौडेलको नयाँ कर्तुत बाहिर आएको हो। पौडेललाई वर्तमान सरकारले २०७८ चैत २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो।
सम्बन्धित समाचार-
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कामै नगरी बिताए ४ महिना
टेक्नोलोजीखबरले स्रोतबाट पाएको सीसीएसआईले नेपाल टेलिकमलाई पठाएको जून १९, २०२२ अर्थात २०७९ असार ५ गतेको गुनासो पत्रमा लामो समयदेखि भुक्तानी नदिँदा वित्तीय समस्या भएको र त्यसले काममा असर पारेको उल्लेख छ। जसले गर्दा कम्पनीका परियोजना निर्देशकले अस्थाईरुपमा काम रोक्न बाध्य भएको गुनासो गरेका छन्।
सो पत्रमा आफूहरु नेटवर्क १ र नेटवर्क २ को काम गरिरहेको भन्दै पटक पटक लिखित तथा मौखिक जानकारी दिँदा पनि रकम भुक्तानी नगरिएको बताएको छ।
जसकारण सीसीएसआईले ‘प्रोजेक्ट फाइनान्सियल क्राईसिस’ भोगेको र त्यसले संचालन तथा मर्मत सेवामा असर पारेको उल्लेख छ।
“हामीले हाम्रा अघिल्ला पत्रहरूमा नेपाल टेलिकमलाई पनि कोषको कमीका कारण कामहरू स्थगन हुँदा उत्पन्न हुने सबै परिणामहरूको लागि सीसीएसआई जिम्मेवार नहुने जानकारी गराएका छौं,” पत्रमा भनिएको छ।
सो पत्रमा कोष कमी हुनुको मुख्य कारण नेपाल टेलिकमबाट भुक्तानी दावीहरूको प्रक्रिया पूरा गर्न नसक्नु वा ढिलाई हुनु र त्यसले आयोजनाको समयावधि लम्बिनु भएको बताईएको छ। टेलिकमले सो अवधिमा २० मध्ये २ ओटा मात्र भुक्तानी दिएको समेत उल्लेख छ।
“तसर्थ, नेपाल टेलिकमले भुक्तानी दावीहरूको प्रक्रियाहरू पालना गर्न नसक्दा / ढिलाइको कारण सिर्जना भएको यो विनाशकारी परियोजना वित्तीय संकटले सीसीएसआईलाई सञ्चालन र मर्मतसम्भार (ओ एण्ड एम) सेवाहरू सहित परियोजना गतिविधिहरू निलम्बन गर्नु बाहेक कुनै विकल्प छोडेन,” टेलिकमलाई पठाएको पत्रमा भनिएको छ।
“नेपाल टेलिकमद्वारा भुक्तानी दावीहरूको प्रक्रिया पूरा गर्न नसक्दा / ढिलाइले सिर्जना गरेको कोष संकटको कारणले जुन २६, २०२२ देखि सबै सञ्चालन र मर्मतसम्भार गतिविधिहरू अनिश्चित समयका लागि स्थगित गर्न गइरहेको छ,” सीसीएसआईले भनेको छ।
उक्त पत्रमा उल्लेखित गरिएका भुक्तानीहरु भएपछि मात्र काम शुरु हुने समेत जानकारी टेलिकमलाई दिईएको छ। र त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल टेलिकमले लिनुपर्ने बताईएको छ। कम्पनीले आफूले पाउनुपर्ने कामको भुक्तानी बारेमा समेत पत्रमा जानकारी दिएको छ।
सीसीएसआईले यस्तो भुक्तानी समस्या परियोजना शुरु भएपछि पहिलोपटक भोगेको बताईएको छ। जसमा प्रबन्ध निर्देशक पौडेलले कम्पनीको परियोजनाको भुक्तानी रोक्न व्यक्तिगत रुपमा आदेश थिए।
टेलिकमका एक उच्च अधिकारीकाअनुसार कम्पनीलाई भुक्तानी नदिन आदेश दिएपछि टेलिकमले सीसीएसआईको भुक्तानी रोकिदिएको थियो।
यसरी बिना कारण परियोजनाको कामको भुक्तानी रोकिएको पहिलो पटक हो। ती अधिकारीले टेक्नोलोजीखबरसँग भने, “यसअघि यस्तो भएको थिएन र एमडीले सिधै रोक्न आदेश दिएका थिए।”
उनकाअनुसार सीसीआईले काम रोक्ने चेतावनीसहितको पत्र पठाएपछि एमडी पौडेललेले केहि रकम भुक्तानी गर्न भनेका थिए।
“परियोजना त्यसै ढिलो भईसकेको छ र अझ छिटो सक्न भनेर भन्नुपर्नेमा भुक्तानी रोकेपछि काम नै ढिलो भयो। यसले परियोजना अवधिसमेत लम्ब्यायो,” उनले भने।
त्यसैगरी अर्का एक उच्च अधिकारीले भने एमडी पौडेलले कम्पनीसँग बार्गेनिङ्गको लागि भुक्तानी रोकेको आशंका व्यक्त गरे।
“टेलिकम भित्र कर्मचारीहरुसँग सहकार्य पनि नगर्ने र छलफल समेत नगर्ने हुँदा एमडीले के गर्छन भन्ने पनि थाहा हुन छोडेको छ,” उनले भने, “आफू एमडी भएको भनेर बार्गेनिङ्गको लागि रोकेका हुन सक्दछन्।”
टेलिकम स्रोतकाअनुसार एमडी सुनिल पौडेलले करिब १ महिना भुक्तानी रोकेपनि सो पत्र पाएलगत्तै कम्पनीलाई केहि रकमहरु भुक्तानी गरिएको छ।
टेलिकमले फोरजी सेवा देशभर बिस्तार गर्नका लागि टेण्डर मार्फत २०७५ सालमा जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनललाई जिम्मा दिएको थियो। सो वर्ष पुस १७ गते दुबै कम्पनीहरुलाई नेपाल टेलिकमले लेटर अफ इन्टेन्ट दिएको थियो र त्यसपछि सम्झौता गरिएको थियो।
चालू आर्थिक वर्षमा नै फोरजी सेवाको बिस्तारको काम सक्ने योजना लिईएको छ। कुनै अवरोध नभएमा पुस मसान्तसम्ममा फोरजी टेण्डरको काम सकिने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार-
फोरजी सेवा बिस्तारको काम यसै वर्ष सक्ने टेलिकमको तयारी, प्रबन्ध निर्देशक पौडेल भाँजो हाल्दै
यसका साथै टेलिकमले फाइभजी सेवाको परीक्षण गर्ने समेत योजना लिएको छ। यसको लागि हालै टेलिकमले उपकरण आयातको लागि नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट सिफारिस पत्र समेत पाईसकेको छ।
सम्बन्धित समाचार-
टेलिकमको फाइभजी उपकरण ल्याउन दूरसञ्चार प्राधिकरणले दियो सिफारिस पत्र, होला त परीक्षण ?
सीसीएसआईले टेलिकमलाई पठाएको गुनासो पत्र-

सम्बन्धित समाचार पनि हेर्नुस्-
प्रकाशित: ७ भाद्र २०७९, मंगलवार