
काठमाडौं ।
आर्थिक अनिश्चितताले हरेक क्षेत्रमा असर गरेको छ। यसबाट चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमी पनि प्रभावित भएको देखिन्छ। कम्पनीले हालै ९०० जना कर्मचारी कटौती गरेको बताइएको छ। अर्थात् कम्पनीले कर्मचारीलाई निकालेको छ।
जानकारीका अनुसार, कर्मचारी कटौतीले शाओमीका करिब ३ प्रतिशत कर्मचारीलाई असर गरेको छ। यस वर्ष जुन ३० सम्म, शाओमीमा ३२,८६९ पूर्ण-समय कर्मचारीहरू थिए। तीमध्ये ३० हजार ११० कर्मचारी कम्पनीको गृह देश चीनमा र बाँकी भारत र इन्डोनेसियामा कार्यरत थिए।
यससँगै कम्पनीको रिसर्च एण्ड डेभलपमेन्ट भर्टिकलमा पनि १४ हजार ७ सय कर्मचारी रहेका छन्। कम्पनीले कुल ९ सय कर्मचारीलाई निकालेको छ।
साउथ चाइना मर्निङ पोष्टकाअनुसार जुन त्रैमासिकमा कम्पनीको विश्वव्यापी राजस्वमा २० प्रतिशतले कमी आएका कारण जागिर कटौती गरिएको हो। विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार संकुचित भएपछि शाओमीले दोस्रो त्रैमासिक राजस्वमा तीव्र गिरावट आएको रिपोर्ट गरेको छ। यो गिरावट चीन बाहेक अन्य बजारमा भएको अनुमान गरिएको छ।
शाओमीका अध्यक्ष वाङ जियाङले त्रैमासिक आम्दानी प्रतिवेदन पछि विश्लेषकहरूसँगको अर्निङ्ग कलमा भने, “हाम्रो उद्योगले यस त्रैमासिकमा बढ्दो विश्वव्यापी मुद्रास्फीति, विदेशी मुद्राको अस्थिरता (र) जटिल राजनीतिक वातावरणलगायत थुप्रै चुनौतीहरूको सामना गरेको छ। यी चुनौतीहरूले हाम्रो वित्तीय नतिजाहरूलाई असर गर्यो।”
चीनमा शाओमीका स्मार्टफोनको बिक्री २९ प्रतिशतले घटेको बताइएको छ। कम्पनीको कुल राजस्वको आधाभन्दा बढी हिस्सा चीनको छ। कम्पनीको स्मार्टफोन बिक्री वार्षिक रूपमा २०% घटेर १०.३१ बिलियन डलर पुगेको छ। विश्लेषकहरूले कम्पनीको खुद आम्दानी ६७ प्रतिशतले घटेर २.०८ अर्ब युआन पुग्ने अनुमान गरेका छन्।
प्रकाशित: ७ भाद्र २०७९, मंगलवार