जीएसएम सेवाको लागि अनुमति पत्र माग गर्दै सीजी टेलिकमको निवेदन

Technology Khabar ७ भाद्र २०७९, मंगलवार

काठमाडौं ।

चौधरी ग्रुपअन्तरगतको सीजी टेलिकमले जीएसएम टेलिकम सेवा संचालन गर्नका लागि पुन आवेदन दिएको छ। सीजी टेलिकम लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरणमा गत महिनामा नै निवेदन दिएको हो।

सीजीले यसअघि पनि पटक पटक निवेदन दिएर जीएसएम मोबाइल सेवाको युनिफाईड लाइसेन्स माग गर्दै आएको छ। तर कम्पनीले हालसम्म सो अनुमति पत्र पाएको छैन्।

हाल फेरी साउनको अन्तिम साता दूरसञ्चार प्राधिकरणमा नयाँ अनुमति पत्रको लागि निवेदन दिएको प्राधिकरण स्रोतले दाबी गरेको छ।

“कम्पनीले यसअघि पनि पटक पटक निवेदन दिँदै आएको थियो र फेरी नयाँ निवेदन दिएको छ। सीजीको निवेदन आईरहने हुँदा यस बारेमा तत्काल केहि प्रकृया अगाडि बढेको छैन्,” स्रोतले टेक्नोलोजीखबरसँग भन्यो।

पछिल्लो समय सीजीको लागि जीएसएम मोबाइल सेवाको अनुमति पत्र प्रतिष्ठाको विषय जस्तै भएको छ, जसको लागि कम्पनीले निकै प्रयासहरु गरेको छ।

यसअघि पनि सीजी टेलिकमले मोबाइल सेवाको लागि अनुमति माग गर्दै सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिएको थियो। सो निवेदनको बारेमा मन्त्रालयले नियमनकारी निकाय प्राधिकरणसँग राय माग गरेको थियो।

प्राधिकरण बोर्डले भने राय दिनु नपर्ने भन्दै आफ्नो निर्णय सरकारलाई पठाएको थियो । जसमा ‘दूरसञ्चार ऐन २०५३ को दफा २३ (२) अनुसार मन्त्रिपरिषदले गरेको निर्णयअनुसार राजपत्र संसोधन हुने विषयमा राय दिनु नपर्ने’ उल्लेख थियो।

जसले गर्दा त्यसबेला सीजीको अनुमति पत्र लिने योजना तुहिएको थियो। पटक पटकको अनुमति लिने प्रयास तुहिएसँगै कम्पनीले इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र लिएको छ भने हाल सीजी नेटको नाममा काठमाडौं उपत्यका भित्र सिमित स्थानहरुमा सेवा दिँदै आएको छ।

सम्बन्धित समाचार-

राजपत्रमा राय दिनु नपर्ने प्राधिकरण बोर्डको निर्णय, तुहियो सीजीले मोबाइल लाइसेन्स पाउने संभावना

अब फेरी कम्पनीले नयाँ निवेदनमार्फत नयाँ प्रयास गरेको बताईएको छ।

यसअघि पनि सीजीले विभिन्न सरकारको पालामा अनुमतिको लागि प्रयास गरेको थियो। कम्पनीले केपी ओली सरकारको पालामा समेत अनुमति पत्रको प्रयास गरेको थियो तर लाइसेन्स नपाएपछि त्यसबेलाका संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटासँग सामाजिक संजालमा दोहोरी नै चलेको थियो।

तर पछिल्लो समय २५ लाखमा नै जीएमएस मोबाइल सेवाको अनुमति दिन लागेको भन्दै बास्कोटाले कटाक्ष गरेका थिए।

सम्बन्धित समाचार-

पूर्व सञ्चारमन्त्री बास्कोटालाई सीजीको काउन्टर- २५ लाखमा अर्को कम्पनीलाई लाईसेन्स दिन मिलाएको प्रपञ्च

प्रकाशित: ७ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया