सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा

  • Technology Khabar | ६ भाद्र २०७९, सोमबार

काठमाडौं ।

निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा दिने भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मत बदर कम गर्न निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउने भएको हो।

फेसबुक, ट्विटर, युट्युब, भाइबर, मोबाइल एप, ह्वाट्स एप (मतदाता नामावली भर्दा अधिकांशको मोबाइल नम्बर भएकाले) द्वारा सामाजिक सञ्जालको प्रयोग गरिने आयोगले जनाएको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मत बदरको संख्या बढेपछि आयोगले मतदाता स्वयंसेवक परिचालनदेखि राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीलाई तालिम दिन लागेको हो।

२०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आयोगले मतदाता शिक्षा डिजिटल प्रविधि मार्फत मात्रै चलाएको थियो।

यसपालि भने सामाजिक सञ्जालसँगै घरदैलो समेत गर्ने निर्वाचन आयोगले जनाएको छ।

गत बैशाख ३० को निर्वाचनमा पालिका प्रमुख र अध्यक्षमा ९ प्रतिशतभन्दा बढि तथा उपप्रमुख र उपाध्यक्षमा १६ प्रतिशतभन्दा बढि मत बदर भएकाले डिजिटलसँगै घर दैलो समेत गर्ने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आयोगको सूचनामा जनाएका छन्।

मतदाता शिक्षाका लागि डिजिटल सहित नगर र गाउँपालिकाका ६ हजार ५ सय वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउने तथा रेडियो–टेलिभजन सन्देश र सांगितिक कार्यक्रम समेत हुनेछन्।

मतदाताले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेशसभा तर्फ पनि त्यसरी नै अलग-अलग दुई ओटा मतपत्रमा मत हाल्नुपर्नेछ।

धेरैभन्दा धेरै मतदातालाई भोट हाल्ने बनाउनु र मत बदर जतिसक्यो कम गर्नु आयोगको चुनौति हो।

त्यसैले आयोगले राजनीतिक दलका प्रतिनिधिलाई र शान्ति सुरक्षादेखि चुनावी निरीक्षणमा खटिने प्रमुख जिल्ला अधिकारीलाई पनि तालिम दिँदैछ।

स्थानीय तह निर्वाचनको बदर मत संख्याले पनि आयोगलाई मतदाता शिक्षामा ध्यान दिनुपर्ने देखाएको हो।

प्रकाशित: ६ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार