काठमाडौं ।
नेपाल सरकारको नीतिअनुसार प्रत्येक पालिकाले भू–उपयोग नीति तयार पार्नुपर्ने हुन्छ। सोहीबमोजिम तुलसीपुर उपमहानगर पालिकाले एक महिनाभित्रै भू–उपयोग नीति कार्यान्वयनका लागि डिजिटल नक्सा तयार पारेको हो।
पालिकाले डिजिटल नक्सा तयार पारेपनि मालपोत कार्यालयले भने कार्यान्वयनमा ल्याउन सकेको छैन । तुलसीपुर उपमहानगर पालिकाले नक्सा तयार पारेर कार्यान्वयनका लागि कार्यपालिका बै ठकबाट निर्णय गरेर पठाएको हो ।
उपमहानगर प्रमुख टीकाराम खड्काले तयार पारेको नक्साका बारेमा भूमिसुधार तथा सहकारीमन्त्रीलाई नै प्रत्यक्ष भेटेर कार्यान्वयनका लागि आग्रह गरेपनि सम्बन्धित कार्यालयले कार्यान्वयनमा नल्याएको बताए । उनले कार्यान्वयनमा नल्याउँदा दैनिक लाखौँ राजस्व गुम्नुका साथै नागरिकले सास्ती बेहोर्नुपरेको बताए ।
उपमहानगरका नापी अधिकृत प्रदीप ज्ञवालीका अनुसार नगरभित्र ३२ प्रतिशत कृषियोग्य जग्गा कायम गरिएको छ ।
नापी विभागले २०७५ सालमा लिएको स्याटेलाइट इमेजमा कृषियोग्य जग्गाको क्षेत्रफल ४७ प्रतिशत हाराहारी रहेको थियो। कुल ३८४ वर्गकिलो मिटर क्षेत्रफल रहेको उपमहानगरमा १२४ वर्गकिलो मिटर अर्थात् १८ हजार ३०९ बिघा कृषियोग्य जमिन रहेको छ। त्यसमध्ये तीन हजार ६९१ बिघालाई कृषिको पकेट क्षेत्रनै घोषणा गरिएको नगरपालिकाले जनाएको छ।गोरखापत्रबाट
प्रकाशित: ६ भाद्र २०७९, सोमबार