काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर श्रमिकहरुको गुनासो सुनेका छन्। श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतवार प्रत्यक्ष रुपमा श्रमिकका गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन्।
विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा उनले सुनेका हुन् ।
मन्त्री कुँवरले अब प्रत्येक आइतवार बिहान १० बजेदेखि १२ बजेसम्म प्रत्यक्ष रूपमा स्वदेश विदेशमा रहेका श्रमिकसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताए। मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याएमा तत्काल कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए।
मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौंभन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताए। मन्त्री कुँवरले कल सेन्टरमा आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्यामा राहतका लागि भएको बताए। मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताए।
धेरै श्रमिकका उजुरी सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको मन्त्री कुँवरको भनाइ छ। सरकारको डाटाअनुसार ४६ लाख नेपाली नागरिक विदेशमा छन् ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउनेगरेको बताए। मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनका लागि पठाउने गरेको उनले बताए।
प्रकाशित: ५ भाद्र २०७९, आईतवार