
काठमाडौं ।
भियतनामको सरकारले टेक्नोलोजी फर्महरूलाई आफ्ना प्रयोगकर्ताहरूको डाटा स्थानीय रूपमा भण्डारण गर्न र स्थानीय कार्यालयहरू स्थापना गर्न आदेश दिएको छ। साइबर सुरक्षा नियमहरू कडा गर्नको लागि यसको पछिल्लो कदमको रुपमा सो आदेश आएको हो।
बुधवार एक आदेशमा जारी गरिएको नयाँ नियम अल्फाबेट इंकको गुगल, मेटाको फेसबुक जस्ता सोशल मिडिया कम्पनीहरू, र दूरसञ्चार अपरेटरहरूमा लागू हुनेछ। यो नयाँ नियम अक्टोबर १ देखि लागू हुने रोयटर्सले उल्लेख गरेको छ।
“वित्तीय अभिलेख र बायोमेट्रिक डाटादेखि लिएर जनताको जातीय र राजनीतिक विचारहरूको जानकारी सम्मका सबै इन्टरनेट प्रयोगकर्ताहरूको डाटा, वा इन्टरनेट सर्फिंग गर्दा प्रयोगकर्ताहरूले सिर्जना गरेको कुनै पनि डाटा घरेलु रूपमा भण्डारण गर्नुपर्नेछ,” आदेशमा भनिएको छ।
यदि डाटाले सरकारको दिशानिर्देशहरू उल्लङ्घन गरेको मानिन्छ भने अधिकारीहरूलाई अनुसन्धानको उद्देश्यका लागि डाटा सङ्कलन अनुरोधहरू जारी गर्ने र सेवा प्रदायकहरूलाई सामग्री हटाउन अनुरोध गर्ने अधिकार हुनेछ, आदेशमा भनिएको छ।
अध्यादेश अनुसार विदेशी फर्महरूले सार्वजनिक सुरक्षा मन्त्रीबाट निर्देशन प्राप्त गरेपछि स्थानीय डाटा भण्डारण र प्रतिनिधि कार्यालयहरू स्थापना गर्न १२ महिनाको समय पाउनेछ र न्यूनतम २४ महिनाको अवधिमा डाटा भण्डारण गर्नु पर्नेछ।
प्रकाशित: ४ भाद्र २०७९, शनिबार