
काठमाडौं ।
सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेको योगदानकर्ताले मोबाइल एपबाटै विभिन्न कर्जा सुविधा लिन पाउने भएका छन्। कोषले बुधबारदेखि मोबाइल एप सञ्चालनमा ल्याएको छ।
सोही एपको प्रयोग गरेर योगदानकर्ताले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा लिन सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवरले योगदानकर्ता विशेष सापटी र मोबाइल एपको शुभारम्भ गरे।
सो अवसरमा मोबाइल एपबाटै कोषमा योगदान गरिरहेका विनयकुमार महतो र पवनबाबु प्रधानले विशेष सापटी तथा केशव खड्काले अवकाश सुविधाबापतको रकम प्राप्त गरे।
एपमार्फत कोषमा योगदान गरेको रकम र विभिन्न सापटी तथा कर्जा लिएको विवरण लिन सकिने छ।
एपमार्फत कोषका योगदानकताले कोषमा जम्मा भएको आफ्नो रकमका बारेमा जानकारी पाउन, आफ्नो केवाईसी भर्न, अवकाश हुँदा योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता विशेष सापटी आवेदन दिन र अस्पतालमा उपचारका लागि योग्य रहे नरहेकोबारे जानकारी लिन सकिनेछ।
कोषमा जम्मा भएको ८० प्रतिशत रकम (विशेष सापटी) झिक्नका लागि आवेदन दिने, सूचीकृत अस्पतालको सूचीलगायत विभिन्न सुविधाका बारेमा जानकारी लिन सकिने बताईएको छ। विसं २०७६ साउनसम्म नियमित योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी तथा कर्जा लिन पाउने भएका छन्।
प्रकाशित: २ भाद्र २०७९, बिहीबार