
काठमाडौं ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अपराधको नयाँ शैली आएको अवस्थामा सुरक्षा निकायले पनि नयाँ प्रविधियुक्त अनुसन्धान पद्धतिलाई अबलम्बन गरी अगाडि बढ्नुपर्ने बताएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा संयुक्तरूपमा मंगलबार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ मा प्रदेशको नेपाल प्रहरी प्रविधिमैत्री बन्नुपर्ने बताए।
मन्त्री साहले बढ्दो साइबर क्राइम तथा सिमा क्षेत्रमा हुने लागूऔषधको कारोबारलाई पूर्णरूपमा निरुत्साहित पार्न अझै सक्रिय हुनुपर्ने उल्लेख गरे।२१ औं शताब्दीमा सूचना प्रविधिले लामो फड्को मारेको समयमा नेपाल प्रहरीले पनि सोहीअनुरुप आफुलाई अपडेट गरी नयाँ तरिकाबाट अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मधेश प्रदेशमा घरेलु हिंसा र जघन्य अपराधको घटना बढी हुनेगरेको भन्दै त्यस्ता घटनामा सुक्ष्म तरिकाले अनुसन्धान गर्न आफ्ना मातहतका कर्मचारीलाई निर्देशन दिए।
साथै उनले प्रविधिको विकाससँगै बढदै गएका आर्थिक अपराध, साइबर अपराध, बैंकिङ कसूर लगायतका अपराधहरूको न्यूनीकरणका लागि केन्द्रमा मात्र नभई यस्ता मुद्दाको निरूपणका लागि प्रदेशस्तरमा समेत अदालत तोकिनु पर्नेमा जोड दिए।
गोष्ठीमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले प्रमाणमुखी अनुसन्धानको पद्धतिलाई अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै अपराध अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोगलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। उनले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन फोरेन्सिक ल्याब प्रदेशमा स्थापनका लागि प्रदेश सरकारलाई सुझाब दिए।
प्रकाशित: १ भाद्र २०७९, बुधबार