
काठमाडौं ।
धरान उपमहानगरपालिकामा पनि आविष्कार केन्द्र खोल्ने तयारीका बिच मेयर हर्क साम्पाङ र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनबीच छलफल भएको छ।
हालै धरानका मेयर साम्पाङले कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन तथा भ्रमण गरि केन्द्रका अध्यक्ष पुनसँग सो बारेमा छलफल गरेका हुन्।
पुनले केन्द्र २४ घण्टा नै खुला हुनुपर्ने र शैक्षिक प्रमाणपत्र नचाहिने र आइडिया भएका सबैलाई काम गर्न दिनुपर्ने शर्त राखेको बताईएको छ।
सो भ्रमण तथा कुराकानीको बारेमा सामाजिक अभियन्ता तथा ग्रीन ग्रोथका सञ्चालक सौरभ ढकालले ट्वीटमार्फत जानकारी दिएका छन्।
धरानमा आविष्कार केन्द्र खोल्ने तयारी ।
२४ घण्टा नै खुला हुनु पर्ने !
शैक्षिक प्रमाणपत्र नचाहिने !
र आइडिया भएका सवैलाइ काम गर्न दिनु पर्ने @MahabirPun काे सर्त !! #InnovationForEveryone #Nepal CC @journoupendra https://t.co/TeMgAI5raN— Saurav Dhakal (@DhakalSaurav) August 16, 2022
यसैबीच पुर्वाञ्चल क्याम्पस धरानले जेठ ३० गते धरान उपमहानगरपालिका तथा राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा आविष्कार केन्द्र खोल्ने आशयपत्र मेयर साम्पाङलाई बुझाएको छ।
सो पत्रमा उपमनपाले केन्द्रको भौतिक संरचना निर्माणमा सहयोग तथा केन्द्रले आविष्कार सम्बन्धित खर्चको जोहो गरेमा क्याम्पसले आविष्कार केन्द्र स्थापनाका लागी जग्गा, जनशक्ति (विद्यार्थी तथा प्राध्यापक), प्रयोगशालाका उपकरण तथा सन्चालन खर्च उपलब्ध गराउने जानकारी उल्लेख भएको बताईएको छ।
यसअघि नै मेयर साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका थिए।
सन् २०१२ मा पुनले स्थापना गरेको केन्द्रले विज्ञान, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि लगायतका क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दै आइरहेको छ।
प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार