फोरजी सेवा बिस्तारको काम यसै वर्ष सक्ने टेलिकमको तयारी, प्रबन्ध निर्देशक पौडेल भाँजो हाल्दै

  • Technology Khabar | ३१ श्रावण २०७९, मंगलवार
फोरजी सेवा बिस्तारको काम यसै वर्ष सक्ने टेलिकमको तयारी, प्रबन्ध निर्देशक पौडेल भाँजो हाल्दै

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्नो फोरजी बिस्तारको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ। टेलिकमले चालू आवको बजेट तथा कार्यक्रममा नै फोरजी बिस्तारको काम सम्पन्न गर्ने योजना लिएको छ।

त्यसबेला १२ महिनामा नै सकिने दाबी गरिएको फोरजी सेवा बिस्तारको करिब ४ वर्षमा सकिन लागेको हो।

सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले हालसम्म ९६ प्रतिशत भन्दा माथि फोरजी सेवा बिस्तारको काम सम्पन्न गरेको जानकारी दिएको छ।

टेलिकम स्रोतले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म र्यान १ को काममध्ये ९४ प्रतिशत सम्पन्न भईसकेको छ भने र्यान २ को काम ९८ प्रतिशत सकिएको छ। त्यसैगरी कोर नेटवर्कको काम शतप्रतिशत सकिएको स्रोतले जानकारी दिएको छ।

नेपाल टेलिकमकाअनुसार देशभरका ७५३ स्थानीय तहहरुमध्ये करिब १८/१९ ओटा निकायहरुमा फोरजी सेवा बिस्तार हुन सकेको छैन भने अन्य स्थानीय तहहरुमा फोरजी सेवाको पहुँच पुगेको छ।

“विशेषगरी देशका उच्च हिमाली भेग र भौगोलिकरुपमा कठिन स्थानहरुमा फोरजी पुर्याउन सकिएको छैन्,” टेलिकमका एक उच्च अधिकारीले बताए, “हामीले ती स्थानहरुमा कसरी सेवा बिस्तार गर्ने भनेर हेरिरहेका छौं।”

उनकाअनुसार चालु वर्षको पुस मसान्तसम्म परियोजना सम्पन्न भएको घोषणा गर्ने योजना रहेको छ तर हालै घोषणा भएको चुनावले गर्दा केहि समय पछि धकेलिन सक्नेछ।

टेलिकमकाअनुसार फोरजी परियोजना सम्पन्न भएपनि कम्पनीले थप केहि स्थानहरुमा चालू आवमा आफैंले टावर राख्ने र सेवा बिस्तार गर्ने तयारी समेत गरेको छ।

यस्तो सेवा बिस्तार हाल फोरजी पुगे पनि गुणस्तर मापदण्डमा अपुग भएको वा थप सेवा आवश्यक पर्ने देखिएका स्थानहरुमा हुनेछन्। यसको लागि भने टेलिकमले आफ्नै खर्च र लगानीमा आवश्यक पूर्वाधार तथा उपकरणहरु जडान गर्नेछ।

प्रबन्ध निर्देशक पौडेलले रोके भेण्डरको भुक्तानी

टेलिकमले फोरजी सेवाको बिस्तारमा ढिलाई भईरहेको भन्दै भेण्डरहरुलाई छिटो सक्न दबाब दिईरहेको र सहजिकरण गरिरहेको बेलामा प्रबन्ध निर्देशक सुनिल पौडेलले भेण्डरको भुक्तानी नै रोकेको खुलासा भएको छ।

“एमडीले भुक्तानी नगरिदिएको भन्दै फोरजीको काम गर्ने कम्पनीले गुनासो नै गरेको थियो,” टेलिकमका एक उच्च अधिकारीले टेक्नोलोजीखबरलाई बताए।

उनकाअनुसार फोरजी बिस्तारको अन्तिम समयमा आएर भेण्डरलाई दुख दिँदा त्यसले योजनामा थप ढिलाई हुनसक्ने देखिएको छ।

“फोरजी बिस्तारको काम दशैं अघि नै सकिने संभावना थियो तर भेण्डरको भुक्तानी रोकिएपछि अझ पछाडि धकेलिने भो,” उनले भने।

यस बारेमा भेण्डरले लिखितरुपमा नै कम्पनीलाई गुनासो गरेको बताईएको छ।

पौडेल टेलिकममा प्रबन्ध निर्देशक नियुक्त भएर आएको ४ महिनासम्म कामै नगरी बिताएको र कुनै योजना समेत ल्याउन नसकेको गुनासो टेलिकमभित्र सुनिँदै आएको छ।

सम्बन्धित समाचार-

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कामै नगरी बिताए ४ महिना

टेलिकमले फोरजी सेवाको शुरुवात २०७३ साल पुस १७ गतेदेखि शुरु गरेको घोषणा गरेको थियो। त्यसबेला काठमाडौं उपत्यकासहित पोखरामा सेवा शुरु गरेको थियो।

त्यसबेला काठमाडौंका ३ सय ८ र पोखराका ७९ वटा मोबाइल टावरलाई स्तरोरन्ति गरी सेवा सुरु गरेको थियो भने फोरजी सेवा सुरु गर्न टेलिकमले करिब ३९ करोड रुपैयाँ खर्च जानकारी दिएको थियो।

यसअघि सरकारले २०७३ कात्तिक ५ गते टेलिकमलाई फोरजी सेवा सञ्चालनको अनुमति दिएको थियो।

त्यसपछि भने टेलिकमले फोरजी सेवा देशभर बिस्तार गर्नका लागि टेण्डर मार्फत २०७५ सालमा जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनललाई जिम्मा दिएको थियो। सो वर्ष पुस १७ गते दुबै कम्पनीहरुलाई नेपाल टेलिकमले लेटर अफ इन्टेन्ट दिएको थियो र त्यसपछि सम्झौता गरिएको थियो।

सम्बन्धित समाचार-

टेलिकमको फोरजी बिस्तार प्रकृया अगाडि बढ्यो, फाइभ जीमा पनि जाने

फोरजी सेवा बिस्तारको लागि कोर र र्यानतर्फ टेण्डर पारेका जेडटिई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सिसिएसआई) कम्पनीले काम गर्दै आएका छन्।

सम्झौता हुँदा १२ महिनाभित्र देशभर सेवा बिस्तार गर्नुपर्ने प्रावधान राखिएको भएपनि कोभिड महामारीले गर्दा फोरजी बिस्तारको काममा ढिलाई भएको टेलिकमको भनाई छ।

२०७६ असोज १६ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फोरजी सेवाको औपचारिक शुरुवात गरेका थिए। त्यसैगरी २०७८ जेठ ३ गतेदेखि फोरजी भोल्टे(4G VoLTE) को परीक्षण शुरु गरिएको थियो।

रेडियो एक्सेस नेटवर्क र्‍यान विस्तारका लागि टेलिकमले नेटवर्क एक र नेटवर्क दुई गरी तत्कालिन ५ विकास क्षेत्रलाई दुई भागमा बाँडेर टेन्डर आव्हान गरेको थियो। तत्कालिन समयमा परियोजनाको कुल लागत कोरतर्फ करिब ३ अर्ब र र्यानतर्फ करिब १९ अर्ब ९ करोड रहेको जानकारी दिईएको थियो।

यो समाचार पनि हेर्नुस्-

इन्टरनेट सेवा प्रदायकले संचालन गरिरहेका सबै बण्डलिङ सेवाहरु गैरकानूनी, तत्काल बन्द गर्न निर्देशन

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...