काठमाडौं ।
आगामी भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा शुरु हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनद्धारा आयोजित मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) को संयुक्त कार्यशालामा यस्तो जानकारी दिइएको हो।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले भदौ ३० गतेबाट एमडीएमएस सिस्टम लागु गर्ने प्रतिवद्धता जनाएका थिए।
एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो। भदौ ३० पछि अवैध रूपमा नेपाल भित्रिएका मोबाइल चल्ने छैनन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानून भित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागु गर्नुपर्नेमा जोड दिए ।
मोबाइल फोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राले पछिल्लो समय सरकारले विलासिताको बस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दु:ख व्यक्त गर्दै सरकारको सो कार्यप्रति आपत्ति जनाएका थिए। गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौतीसम्म गर्नुपर्ने वाध्यताले हजारौँको सङ्ख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको जिकिर गरे।
त्यस्तै कार्यक्रममा मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएसको सुरुवात हुने र यसको दुई देखि तीन महिनामा शतःप्रतिशत लागु हुनेमा विश्वस्त रहेको बताएका थिए । त्यो दुई/तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गरिनुपर्ने उनको भनाइ छ।
प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार