
काठमाडौं ।
नासाले पृथ्वीतर्फ आउँदैगरेका उल्कापिण्डहरुको बारेमा चिन्ता व्यक्त गरेको छ। भर्खरै पृथ्वीबाट ११० फिट अग्लो उल्का पिण्ड गुज्रिएको छ। यसलाई २०२२ ओटी१ नाम दिइएको थियो।
अब अर्को उल्का पिण्ड पृथ्वीतर्फ आउँदैछ, जसको आकार पनि २०२२ ओटी१ भन्दा दोब्बर रहेको बताइएको छ। नासाले चेतावनी जारी गर्दै १९० फिट साइजको उल्का पिण्ड पृथ्वीतर्फ तीव्र गतिमा आईरहेको बताएको छ।
अन्तरिक्ष एजेन्सीकाअनुसार उल्का वा क्षुद्रग्रहहरू धेरै अवस्थामा सूर्यको वरिपरि घुम्छन्, तर कहिलेकाहीँ तिनीहरूले ग्रहको गुरुत्वाकर्षणको प्रभावमा आफ्नो दिशा परिवर्तन गर्छन्।अहिलेसम्म एउटा सानो उल्का पिण्ड मात्र पृथ्वीमा ठोक्किएको छ जसले धेरै कम क्षति गरेको छ।
एचटी टेकमा प्रकाशित रिपोर्टकाअनुसार नासाले अब केही दिनमा चार ओटा क्षुद्रग्रह पृथ्वीको नजिकबाट जाने बताएको छ । यी उल्कापिण्डहरू मध्ये सबैभन्दा ठूलो २०२२ पीसी नामको क्षुद्रग्रह हो, जसको आकार १९० फिट रहेको बताइएको छ। अगस्ट १८ अर्थात भदौ २ गते, यो पृथ्वीको सबैभन्दा नजिक हुनेछ। पृथ्वीबाट यसको दूरी ६३ लाख किलोमिटर रहेको बताइएको छ। यो नयाँ उल्कापिण्ड एक दिन अघि गुज्रिएको क्षुद्रग्रह भन्दा धेरै ठूलो छ। यो ४.०७ किलोमिटर प्रति सेकेन्डको गतिमा आईरहेको छ।
यति मात्र होइन, यसअघि अर्को खतरा पृथ्वीतर्फ सर्दैछ। २०२२पीडब्लु नामको अन्तरिक्ष चट्टान पृथ्वी तिर लाग्दैछ। यो १६ अगस्ट अर्थात मंगलबार पृथ्वीको सबैभन्दा नजिक हुनेछ। यसको दुरी ५ लाख २९ हजार किलोमिटर मात्र हुनेछ। पृथ्वी र चन्द्रमा बीचको दूरी ३ लाख ८५ हजार किलोमिटर छ। तदनुसार, यो क्षुद्रग्रह पृथ्वीको धेरै नजिकबाट जानेछ।
नासाको एस्टेरोइड वाच ड्यासबोर्डले यी खगोलीय पिण्डहरू र धूमकेतुहरू ट्र्याक गर्ने गर्दछ। यसले क्षुद्रग्रह पृथ्वीको कति नजिक जान्छ र यसले कति हानिकारक हुन सक्छ भन्ने खबर राख्छ। हवाइजहाजको आकारको ७१ फिट चौडाईको २०२२ ०ए४ क्षुद्रग्रह अहिले ७ दशमलव ८६ किलोमिटर प्रति सेकेण्डको गतिमा पृथ्वीतर्फ सरिरहेको पछिल्लो जानकारीले देखाएको छ।
नासाका अनुसार १५० मिटरभन्दा ठूलो अर्थात् ४९२ फिट लामो क्षुद्रग्रह पृथ्वीको नजिक पुग्दा खतरा बन्न सक्छ। तर, नासाले पृथ्वीतर्फ आउने जानकारी दिएको क्षुद्रग्रहहरुलाई खतराजन्य भने घोषणा गरिएको छैन्।
प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार