
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालयमा सोमबार भेटवार्ता भएको छ।
भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना संचालनकालागि राष्ट्रिय आविस्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरे। अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताए।
”कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै संचालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको छ,” उनले भने।
केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताए।
कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने अर्थमन्त्रीको योजना प्रति आफ्नो समर्थन रहेको बताउँदै पुनले भने, “कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिन्छ।”
कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने आविस्कार केन्द्रका अध्यक्ष पुनले बताए।
अर्थमन्त्री शर्माले रास्ट्रिय आविस्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए।
कृषि यन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापना भएको केन्द्र वि.स. २०५९ सालदेखि पूर्ण रुपमा बन्द छ।
प्रकाशित: ३० श्रावण २०७९, सोमबार