काठमाडौं ।
– किरण अधिकारी
नेपाल विद्युत प्राधिकरणले प्रमुख शहर र राजमार्ग आसपासका क्षेत्रमा विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ निर्माणको कार्य चालू आर्थिक वर्षभित्रै पूरा गर्दैछ। प्राधिकरणले यसै वर्ष मंसिरसम्म निर्माण पुरा गर्ने तयारी गरेपनि आगामी निर्वाचनका कारण केहि महिना थपिने जानकारी दिएको छ।
पेट्रोलियम पदार्थको परनिर्भरतालाई न्यूनिकरण गर्न र विद्युतिय सवारी साधनको लक्ष्य राखेपछि प्राधिकरणले देशव्यापीरुपमा नै शुरू गरेको ‘चार्जिङ स्टेशन’ पूरा हुन लागेको सूचना अधिकारी भोलानाथ शर्माले जानकारी दिए।
“सुन्दर यातायात लगायत केही निजी क्षेत्रले प्राधिकरणसँग विद्युतीय सवारीका लागि स्टेशन निर्माणमा सहजीकरण गर्दै आएको र निजी क्षेत्रको सुन्दर यातायातले राजधानीमा ‘चार्जिङ स्टेशन’ स्टेशन सञ्चालनमा ल्याइसकेको छ,” उनले टेक्नोलोजीखबरसँग कुरा गर्दै भने।
सूचना अधिकारी शर्माकाअनुसार विद्युतीय सवारी साधन प्रबर्द्धनका लागि पनि सरकारी क्षेत्रले नेतृत्व गर्नुपर्छ भन्ने लक्ष्यसाथ प्रमुख शहरी क्षेत्रहरु (काठमाडौं, पोखरा, नारायणघाट, हेटौडा लगायत) र मुख्य राजमार्ग (पृथ्वी, महेन्द्र, वीपी) तथा सहायक राजमार्गको बीच, शुरू, अन्त्यमा स्टेशन निर्माणका अघि बढेको प्रक्रिया पूरा हुँदैछ।
चालु आर्थिक वर्षसम्ममा पूरा गर्ने लक्ष्य सहित कार्य विस्तार भइरहेको प्राधिकरणले दाबी गरेको छ।
प्राधिकरणले विशेषगरी राति खेर जानसक्ने विद्युतलाई उपयोग गर्ने नीति अनुसार रातको समयमा प्राधिकरणले प्रतियुनिट ४ रुपैयाँमा नै ईलेक्ट्रिक भेहिकल चार्जका लागि विद्युत् उपलब्ध गराउने भएको छ।
विद्युतिय सवारी गत आर्थिक वर्षमा ३०९ ओटा आयात भएको भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।
चालू वर्षसँगै आगामी वर्षमा पनि यसप्रति अधिकांशको आकर्षण बढ्ने अनुमानका साथसाथै सरकारी कार्यालयले यसैलाई प्राथमिकता दिनुपर्नेमा प्राधिकरणले जोड दिएको छ।
प्रकाशित: ३० श्रावण २०७९, सोमबार