प्युठानमा राष्ट्रिय परिचयपत्र बनाउन भीड

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार
प्युठानमा राष्ट्रिय परिचयपत्र बनाउन भीड

काठमाडौं ।

प्युठान जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले बारअनुसार स्थानीय तहको तालिका बनाएको छ। दैनिक ४० जनाले सेवा लिने गरी टोकन व्यवस्था गरेर कार्यालयले सेवा दिए पनि सेवाग्राहीले भने परिचयपत्र बनाउन सास्ती भोग्दै आएका छन्।

“४० जनाको टोकन हुँदो रहेछ, एक जना सेवाग्राहीले भने, प्रशासनमा आइपुग्दा टोकन सकिएको हुन्छ।” राहदानीका लागि राष्ट्रिय परिचय पत्र बनाउनका लागि तीन पटक प्रशासनमा आउनुपरेको ती सेवाग्राहीको गुनासो छ।

जिल्लाका नौवटा स्थानीय तहलाई बारअनुसार तालिका बनाएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए। सेवाग्राहीको समस्यालाई मध्यनजर गरी टोकन सकिएको अवस्थामा अर्को साताका लागि सोही दिन टोकन दिने व्यवस्था मिलाइएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी नेपालले इलाका प्रशासन कार्यालय जस्पुरबाट समेत राष्ट्रिय परिचयपत्र बनाउनका लागि पहल गर्दै आएको जानकारी दिए। जसपुरबाट सेवा प्रवाह भएमा तीन पालिकाका सेवाग्राहीलाई सहज हुन्छ। जसपुरबाट सेवा प्रवाह गर्ने विषयमा विभागसँग छलफल भइरहेको उनले बताए।

राष्ट्रिय परिचयपत्रसँगै राहदानीका लागि समेत सेवाग्राहीले सास्ती भोगेको बताएका छन् । उनीहरूले अनलाइनबाट फर्म भर्नुपर्ने भएकाले अनलाइन नखुल्दा हप्तौँसम्म काम नहुने समस्या रहेको गुनासो गरेका छन् । उक्त विषयमा पनि आफूले सहजीकरण गर्दै आएको प्रजिअ नेपालको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार