प्लेनमा चरा ठोक्किनबाट बचाउनका लागि एआईमा आधारित लेजर

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार
प्लेनमा चरा ठोक्किनबाट बचाउनका लागि एआईमा आधारित लेजर

काठमाडौं ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिक विमानस्थलमा विभिन्न समयमा प्लेनमा चरा ठोकिएको समाचार आउने गरेको छ। चरा र प्लेनको टकराव हवाई उद्योगको एउटा जटिल समस्याको रुपमा रहेको छ।

प्लेनसँग चरा ठोकिएर पछिल्लो समय धेरै ठूलो घटना घटेको छैन। यदि प्लेनको कुनै महत्वपूर्ण भागमा चरा ठोकियो भने ठूलो क्षति हुन सक्छ।

यसै विषयलाई ध्यान दिएर चीनका वैज्ञानिकले लेजरमा आधारित एआई संचालित बर्ड रेपलिङ सिस्टम उपयोग गर्ने प्रभावकारी समाधान विकास गरेका छन्। सिम्पल फ्लाइङ रिपोर्टको आधारमा शीआन यूनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर झाओ फान र उनका सहयोगीद्वारा गरिएको अध्ययनलाई गत अप्रिलमा पियर रिभ्यू जर्नल लेजर एण्ड ओप्टोइलेक्ट्रोनिक्स प्रोग्रेसमा प्रकाशित गरिएको थियो।

उक्त टिमले तयार गरेको रोबोटिक सिस्टमले ४ मुख्य उपकरण उपयोग गर्छ। विमानमा राखिने रोबोटिक सिस्टम पूर्ण रुपमा स्वचालित हो। यसमा चरा पता लगाउनका क्यामरा, ट्रयाकिङ भिडियो प्रोसेसिङ मोड्युल, लेजर एमिटर र बिम मोड्युल दिइएको छ।

लेजरले भगाउँछ चरा

यो प्रविधिले चरालाई पर भगाउनका लागि लेजरको प्रयोग गर्छ। यो एक प्रकारको हिटेड लेजर प्रविधि हो जसले चरालाई कुनै नोक्सान नपुर्याई हवाई जहाजबाट टाढा राख्छ। विमानमा जडान गरिएको एआई गाइडेड क्यामराले हावामा उडिरहेको चराको सटिक तरिका पता लगाउन सक्षम भएको बताईएको छ। विमान नजिक चरा आउने वित्तिकै यसको लेजर सक्रिय हुन्छ र एउटा तातो बिम छोड्छ। त्यसबाट तर्सिएर चरा पर भाग्छन्।

अन साइट परीक्षणका अनुसार कम्तिमा १ किलोमिटर टाडा उड्ने चरामा बर्ड रिपेलिङ सिस्टम प्रभावकारी ढंगबाट प्रयोग गर्न सकिन्छ। यस प्रविधिको फाइदाका साथै बेफाइदा पनि छ।

लेजरबाट पाइलटलाई खतरा

चरालाई हवाई क्षेत्रबाट पर राख्ने एआई लेजर सिस्टमको उत्साहजनक परिणामका बावजुद केही नागरिक उड्डयन विशेषज्ञ डिभाइसको विषयमा चिन्तित छन्। उनीहरुका अनुसार चराका लागि लेजर बिम घातक छैन। तर यसले पाइलटको दृष्टिमा खतरा निम्त्याउन सक्छ।

लेजर बिमको प्रयोगबाट पाइलटमा क्षणिक अन्धोपन, भट्किने र आँखामा स्थाई हानी हुने सम्भावना रहन्छ। यदि यो लेजर सिस्टमले सटिक काम गरेन भने अन्य हवाई जहाजलाई समेत असर गर्न सक्छ।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार