Technology Khabar २२ श्रावण २०७९, आईतवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनियरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन्।
लोकस, पुल्चोक क्याम्पसद्वारा आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी मेलाका लागि विषयवस्तु विमोचन कार्यक्रममा मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणको निमित्त इञ्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए।
उनले भने, “समाज रुपान्तरण गर्नको निमित्त इञ्जिनियरिङ क्षेत्रको धेरै ठूलो भूमिका रहन्छ, त्यसतर्फ तपाईहरुको ध्यान केन्द्रित रहन सकोस्, तपाईहरुले चाल्ने कदमले हाम्रो समाजलाई अगाडि बढाउनसक्छ भन्ने विश्वास छ।”
मन्त्री कार्कीले इञ्जिनियरिङ क्षेत्रमा आवश्यक पर्दा सरकार सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे। इञ्जिनियरिङ विषय अध्ययनरत विद्यार्थीले नेपाली समाज र देशको समस्या एवं आवश्यकतालाई मध्यनजर गरी रचनात्मक नवीनतामार्फत जनजीवनलाई सहज बनाउनुपर्ने उनको भनाइ छ।
लोकस, प्राविधिक महोत्सव इलेक्ट्रिकल इञ्जिनियरिङ विभाग र इलेक्ट्रोनिक्स तथा कम्प्युटर इञ्जिनियरिङ विभाग, आइओइ, पुल्चोक क्याम्पसका स्नातक विद्यार्थीको नेतृत्वमा रहेको शैक्षिक संस्था हो।
प्रधानमन्त्रीका सूचना, प्रविधि तथा सञ्चार विज्ञ ई. दिपेश बिष्टले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको योजना पूरा गर्न इञ्जिनियरिङ क्षेत्रको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे।
सन् २००३ मा स्थापित लोकसको सुरुआत भएदेखि नै नेपालभरका स्कुलदेखि कलेज र विश्वविद्यालयका युवा र उत्साही विद्यार्थी वर्गका लागि प्रविधिका क्षेत्रमा आफ्नो असाधारण सीप प्रदर्शन गर्नका लागि खुला मञ्च भएको लोकसका अध्यक्ष टपेन्द्र पाण्डेयले जानकारी दिए।
यसले वार्षिकरुपमा एक राष्ट्रिय प्राविधिक महोत्सव गर्दै आएको छ।
प्रकाशित: २२ श्रावण २०७९, आईतवार