
काठमाडौं ।
चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले आफ्नो कस्टम मोबाइल सफ्टवेयर अर्थात कलरओएस १३ को अर्को संस्करण रोल आउट गर्न थालेको छ।
ओप्पोले यस नयाँ सफ्टवेयरलाई यसअघि नै रोलआउट गर्न सुरु गरिसकेको थियो तर पछि मात्र यसको घोषणा गरिएको हो। ओप्पोको नयाँ कलरओएस १३ गुगलको पछिल्लो अपरेटिङ सिस्टम एन्ड्रोइड १३ मा आधारित छ।
यसमा एन्ड्रोइड १३ का सबै सुविधाहरू छन्, तर यो कस्टम रोम भएकोले ओप्पोले आफ्नो ओएसमा केही अनुकूलन प्रणालीहरू निर्माण गरेको छ।
इच्छुक प्रयोगकर्ताहरूले अब कलरओएस १३ इन्स्टल गर्न सक्छन्, तर त्यसअघि तपाईंले केही कुराहरूलाई ध्यानमा राख्नुपर्छ। पुरानो रिपोर्टका अनुसार यो बिटा टेस्टिङ प्रोग्राम चीन लगायत विश्वका केही देशमा रिलिज भइसकेको छ तर हालै नयाँ रिपोर्ट सार्वजनिक भएको छ, जसअनुसार कलरओएस १३ यसै महिनाको अन्त्यमा विश्वव्यापी रूपमा लन्च हुनेछ र ओपो रेनो ८ सिरिजका प्रयोगकर्ताहरूले पनि यस अपडेटको बिटा संस्करण परीक्षण गर्न सक्षम हुनेछन्।
ओप्पो फोरमकाअनुसार कलरओएस १३ अपडेट चीनमा मात्र सीमित छैन, जुन विश्वभरका केही प्रयोगकर्ताहरूका लागि खुसीको खबर हो। यद्यपि कम्पनीले हाल अष्ट्रेलिया, फ्रान्स, इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, भियतनाम र युएईका प्रयोगकर्ताका लागि मात्रै यो नयाँ ओएस ल्याएको छ। यो सूचीमा नेपालको नाम समावेश छैन।
कलरओएस १३ बिटा परीक्षण कार्यक्रम ओप्पो फाइण्ड एन फोल्डेबल फोन र फाइण्ड एक्स५ सिरीजका लागि मात्र लागू हुन्छ। फाइण्ड एक्स श्रृंखलामा फाइण्ड एक्स५ र फाइण्ड एक्स५ प्रो सहित दुईओटा फोनहरू छन्।
यस बिटा टेस्टिङका लागि कम्पनीले १ हजार मात्रै स्लट तोकेको छ र यसका लागि जो पहिले आउँछ, उसैले पहिलो पाउने कम्पनीको नियम छ । यसको मतलब कलरओएस १३को लागि पहिले अपडेट स्थापना गर्ने प्रयोगकर्ताहरू मात्र बिटा परीक्षण कार्यक्रमको हिस्सा बन्न सक्षम हुनेछन्।
प्रकाशित: २२ श्रावण २०७९, आईतवार