प्रविधिले विद्यालयमा पढाइ प्रभावकारी

  • Technology Khabar | १९ श्रावण २०७९, बिहीबार
प्रविधिले विद्यालयमा पढाइ प्रभावकारी
सांकेतिक तस्बिर

काठमाडौं ।

तनहुँमा प्रविधि प्रयोग गरिएका विद्यालयमा शैक्षिकस्तर उकास्न मद्दत पुगेको पाइएको छ। व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयले ‘पूर्ण प्रविधिमैत्री माध्यम’ बाट पढाइ सञ्चालन गरेपछि पढाइ प्रभावकारी भएको हो ।

कक्षा ९ पढ्ने प्रकृति सापकोटाले प्रत्येक विषयमा पहिले भन्दा १५ अङ्क बढी ल्याउन सफल भएकी छन् । प्रोजेक्टरबाट भिडियो, अडियो, नक्सा चित्र स्मार्ट बोर्डमा देख्न पाउँदा सम्झिन सजिलो भएकाले अङ्क वृद्धि भएको सापकोटाले बताइन्। “स्मार्ट बोर्ड राखे पछि बुझ्न सजिलो भएको छ भने पढ्न पनि अल्छी लाग्दैन,” सापकोटाले भनिन्। सापकोटाको जस्तै सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि भएको छ।

सो विद्यालयले गत वर्षदेखि पूर्ण प्रविधिमा आधारित पढाइ सञ्चालन गरेपछि पढाइमा विद्यार्थीको रुचि बढेको पाइएको छ। पूर्ण प्रविधिअन्तर्गत कम्प्युटर, मल्टिबोर्ड, प्रोजेक्टरबाट पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

स्मार्ट बोर्डमा शिक्षण सामग्रीकारूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त एवं प्रभावकारी रूपमा प्रयोग गर्न सकिएकाले पढाइ प्रभावकारी भएको विद्यालयका प्रधानाध्यापक तीर्थराज परियारले बताए।

“प्रविधिको माध्यमबाट पढाइ सञ्चालन गर्दा चित्र, रङ र ध्वनिको सम्मिश्रण हुने हुनाले प्रभावकारी शिक्षा प्रदान गर्न सम्भव भएको छ,” प्रधानाध्यापक परियारले बताए। मल्टिमिडियाको माध्यमबाट कक्षा सञ्चालन गर्दा सिकाइ अभिवृद्धि हुने, सिकाइ गति वृद्धि भएको उनले बताए।

विद्यालयका आईसीटी संयोजक विनोद पौडेलले कक्षा एकदेखि पाँचसम्म नेटसहित स्मार्ट टीभी र कक्षा ६ देखि १० सम्म स्मार्ट बोर्ड जडान गरिएको बताए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भई सङ्घीय सरकारले दुई पटक गरेर १३ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

“प्रविधिले कक्षाकोठाको शिक्षण सिकाइलाई पहिले भन्दा रमाइलो, चाखलाग्दो त बनाएकै छ, अनुसन्धान र खोज गरेर सिक्ने बानीको समेत विकास गरिदिएको छ,” आईसीटी संयोजक पौडेलले भने।

नेपाली विषयको शिक्षिका विष्णुदेवी कँडेलले पाठ्यक्रम र पाठ्यपुस्तक पनि बोक्नु नपर्ने बताईन्। पाठ्यक्रमले तोकेको उद्देश्य पूरा गर्न युगको आवश्यकताअनुसार आधुनिक प्रविधि अपनाउनुपर्छ भन्ने अवधारणाअनुरूप प्रविधिको सहयोग भएकाले पठनपाठनमा सहज भएको बताइन् । स्मार्ट बोर्डमा कथा, चुट्किला देखाउन सकिने भएकाले ध्यान तान्न सजिलो समेत भएको उनले बताइन्।

विद्यालयका अनुसार आवश्यक शैक्षिक सामग्री जस्तैः सफ्टवेयर, ई–बुक्स, भिडियो, अडियो जस्ता शिक्षण सामग्री तयार पार्न तालिम प्रदान गरिएको छ । गोरखापत्रबाट

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया