
काठमाडौं ।
स्मार्टफोन निर्माता कम्पनी शाओमीले स्मार्ट ग्लास (चश्मा) सार्वजनिक गरेको छ। शाओमी नयाँ चश्माका साथ एआर (अगुमेन्टेड रियाललिटी) बजारमा प्रवेश गरेको हो।
शाओमीले १५ एक्स जुम र स्न्यापड्रागन ८ प्रोसेसर उक्त मिजिया एआर चश्मा सार्वजनिक गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
गुगल, एप्पल, फेसबुक लगायत ठूला कम्पनीले एआरमा ठूलो लगानी गरेसँगै पछिल्लो केही वर्ष यता व्यवसाय फस्टाइरहेको छ।
शाओमीले आधिकारिक रुपमा मिजिया चश्मा क्यामरा क्राउडफन्डिङ प्लेटफर्म शाओमीयूपिनबाट प्रिबुकिङ गर्न सकिने बताएको छ। यूपिनमा खुद्रा मूल्य ३९९ अमेरिकी डलर तोकिएको छ भने विशेष क्राउडफन्डिङ मूल्य ३६९ अमेरिकी डलर तोकिएको छ।
चश्माको छेउमा क्यामरा जडान गरिएको छ र क्यामरामा धेरै लेन्सहरु छन्। चश्मामा ८ मेगापिक्सलको टेलीफोटो लेन्स छ जसले अप्टिकल इमेज स्टबलाइजेसन प्रदान गर्नेछ। शाओमी मिजियाको तौल १०० ग्राम छ।
यस स्मार्ट चश्माबाट प्रयोगकर्ताले रियल टाइम भिडियो रेकर्ड गर्न सक्छन्। यसमा ब्याकट्रयाकिङ फिचर पनि छ। शाओमी मिजिया एप्पका माध्यमबाट चश्मालाई सजिलै स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ। चश्माले अगुमेन्टेड रियाललिटी पनि सपोर्ट गर्छ। यो ग्लासले रियल टाइममा अंग्रेजी र चाइनीज अनुवाद गर्न सक्षम छ।
शाओमी मिजियामा सोनी माइक्रो ओएलईडी डिस्प्ले प्रयोग गरिएको छ।
शाओमी मिजिया चश्मा क्यामरामा स्न्यापड्रागन ८ कोर कम्प्युटिङ प्लेटफर्मका साथ ३ जीबी र्याम र ३२ जीबी स्टोरेज दिइएको छ। चश्मामा जडान गरिएको आईएसपीले उत्कृष्ट एआर अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार