
काठमाडौं ।
निजी क्षेत्रको मोबाइल अपरेटर एनसेलको फोरजी भीओएलटीई सेवा सिमित ग्राहकहरुका लागि उपलब्ध गराएको छ। कम्पनीले भोल्टे भनेर चिनिने भीओएलटीई (VoLTE) सेवा फोरजी सेवा बिस्तार गरिएका ठाउँहरुमा परीक्षणको रुपमा उपलब्ध गराएको हो।
हाल कम्पनीले सामसङ, ओप्पो, शाओमी लगायतका मोबाइल उत्पादकहरुसँग उनीहरुले उत्पादन गर्ने मोबाइलहरुमा भोल्टेकालागि आवश्यक सुविधाहरु थप्नका लागि आवश्यक कार्य गरिरहेको कम्पनीले जानकारी दिएको छ।
अहिलेलाई केही मोबाइल सेटमा यो सेवा व्यावसायिक रुपमा नै प्रदान गरिएको छ।
एनसेलका ग्राहकले एष्ट्रिक्स१७२०१ह्यास डायल गरी एनसेलको भोल्टे चल्ने सेटहरुमा यो सेवा लिन सक्नेछन्।
हामीले एनसेलको एक सिम सहितको मोबाइल सेटमा हेर्दा भने ग्राहकलाई फोन डिभाइस नै भीओएलटीई सेवा सपोर्टिभ नभएको जानकारी दिएको छ।
ह्वावेको नोभा थ्रीआई मोडलको मोबाइलमा यो सेवाको सफ्ट लन्च गरिएको छ। थप ब्राण्ड र तिनिहरुका मोडलहरु थप्ने कार्य कम्पनीले गरिरहेको छ।
यसका साथै ग्राहकका लागि विभिन्न अफरहरु ल्याउनका लागि पनि आवश्यक तयारी गरिरहेको छ।
शुरुवाती चरणमा भोल्टेमा भ्वाइस सेवा मात्र उपलब्ध रहेको छ। आम उपभोक्ता र व्यवसाय दुवैलाई अर्थ राख्ने नवीन सुविधाहरु ल्याउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार