मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा

  • Technology Khabar | १३ श्रावण २०७९, शुक्रबार
मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा
मुस्ताङको कागबेनीमा रहेको नेपाल टेलिकमको टावर। फाइल तस्वीर

काठमाडौं ।

– थम्मन थापा 

पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भूभागमा मोबाइल सेवा पुर्याएसँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो ।

टेलिकमले आफनो सेवालाई त्यहाँ तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपुर्ण गन्तव्यको रुपमा परिचित कागबेनी देखि मुक्तिनाथ मन्दिर सम्मको सडकलाई मध्यनजर गर्दै आफनो सेवा विस्तार गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं १ खिङगामा २५ मिटर स्थायी संरचना सहितको टावर निर्माण गरेर एकैसाथ टेलिकमले टूजी र चौथो पुस्ताको फोरजी मोबाइल सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए।

मोवाईल सेवा सञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं १ को खिङगा गाउँ, झारकोट, पुथाक, झोङका झण्डै २ सय घरधुरी सँगै धार्मिक तथा पर्यटकीय गन्तव्य कागबेनी देखि मुक्तिनाथ मन्दिर सम्मको सडकमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नमस्ते मोबाइलमा भ्वाईस र डाटा चलाउन सहज भएको प्रमुख शर्माले बताए ।

‘पहिले त्यस क्षेत्रमा टावर नहुँदा हामीलाई सञ्चारको लागि निकै समस्या भएको थियो अहिले टावर सञ्चालनमा आएपछि मोवाईलमा कुराकानी गर्न र ईन्टरनेट चलाउन निकै सहज भएको छ,’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले भने।

उनले सडकदेखि टावर निर्माण स्थलसम्म उपकरण ढुवानीको लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आवश्यक सहयोग गरेको समेत बताए ।

मोबाइल सेवा नहुँदा गाउँपालिकाको वडा नं १ का ४ वटा गाउँका बासिन्दा र यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको वडा नं १ का वडा अध्यक्ष प्रमेश गुरुङले बताए।

खिङगामा टेलिकमले सोलार सेट मार्फत टावर सञ्चालन गरेको छ।

यसभन्दा अघि टूजी र थ्रिजी सेवा मात्र रहेको कागबेनीको टावरमा पनि टेलिकमले फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सुचारु भएपछि त्यस क्षेत्रमा मोवाईल डाटा मार्फत इन्टरनेट चलाउन र भीओएलटीई मार्फत एचडी कल गर्न सुविधा थप भएको छ।

त्यस्तै टेलिकमले घरपझोङ गाउँपालिका स्थित जोमसोम रिसोर्टमा रहेको टावरमा फोरजी सेवा थप गरेको छ। फोरजी सेवा सञ्चालन भए सँगै रिसोर्ट आसपासमा रहेका बस्तीहरु स्याङ र ठिनीका झण्डै २ सय घरधुरी मोबाइल सेवाबाट लाभान्वित भएका छन ।

यता म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नं ४ छोटेपा क्षेत्रमा पनि टेलिकमले थ्रीजी सेवा सञ्चालन गरेको जनाएको छ। ५ महिना पहिले टुजी सेवा मात्र उपलब्ध गराएको टेलिकमले त्यहाँ निर्माणाधिन निलगिरी हाईड्रो पावरलाई लक्षित गरि ईन्टरनेट सेवा प्रदान गर्ने उद्येश्यले थ्रीजी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीले जानकारी दिएको छ ।

अत्यन्तै विकट र दुर्गम भूभाग रहेको उक्त स्थानमा निर्माणाधिन निलगिरी हाईड्रो पावरमा झण्डै १ हजार २ सय मजदुरले काम गरिरहेको हाईड्रो पावरका आवसिय ईन्जिनियर रत्न बमजनले जानकारी दिए । निलगिरीमा थ्रिजी सेवा सञ्चालन भएपछि त्यहाँ कार्यरत मजदुरहरुलाई मोबाइल डाटा मार्फत ईन्टरनेट चलाउन थप सहज भएको नेपाल टेलिकमले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १३ श्रावण २०७९, शुक्रबार