
काठमाडौं ।
उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत पहिलो व्याचको ग्राजुएशन तथा दोश्रो व्याचको शुभारम्भ गरेको जानकारी दिएको छ।
उद्योग संगठन मोरङले नविन व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न गत बर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत पहिलो व्याचको ग्राजुएशन तथा दोश्रो व्याचको शुभारम्भ सम्बन्धी जानकारी गराएको हो।
नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो चरणमा २० ओटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्गदर्शन एवं परामर्श, अनुसन्धान र प्रयोगशाला परिक्षण सहजीकरण, सञ्जालीकरणलगायतका विषयहरुमा सहजीकरण गरिएको थियो। यसका साथै व्यवसाय दर्ता, कानूनी एवं प्रशासनिक परामर्श, वित्तिय पहुचका लागि लगानीकर्ता तथा वैंक एवं वित्तिय संस्थाहरु समक्ष समन्वय तथा सहजीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ शुरुवात गरिएको हो।
कार्यक्रम अन्तरगत स्टार्टअपहरुलाई व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जस अन्तरगत बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो । पहिलो व्याचमा सहभागी १९ स्टार्टअपहहरु मध्ये ७ जनाले ग्राजुएशन सेरेमोनीमा भाग लिएको जानकारी दिएको छ।
संगठनकाअनुसार आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायहरु रहने गरी दोश्रो व्याचका लागी बिहिबारबाटै प्रस्ताव आब्हान गरि कार्यक्रमलाई निरन्तरता दिइएको छ।
बाह्र महिना अवधि रहने दोश्रो चरणको कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका बढिमा (२ बर्ष अघि देखि सञ्चालनमा रहेका) शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन्। यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको छ।
उद्योग संगठन मोरङकाअनुसार भदौ १० गतेसम्म आवेदन गर्न सक्ने गरि अनलाईन आवेदन बिहिबारबाट प्रारम्भ गरिएको छ । कार्यक्रम सम्बन्धी बिष्तृत जानकारी सहित अनलाइन आवेदन फारम संगठनको वेबसाइट www.cim.org.np बाट सहज उपलब्ध हुने गरि व्यवस्था मिलाइएको छ । साथै, सम्भावित आवेदनकर्ताहरुका लागी आवेदनमा सहजीकरण गर्न पूर्व आवेदन छलफल कार्यक्रमहरुको समेत आयोजना गरिने संस्थाले जनाएको छ।
प्रकाशित: १२ श्रावण २०७९, बिहीबार