सञ्चार सचिवको रोजाइमा नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याक, के छ सुविधा ?

  • Technology Khabar | १२ श्रावण २०७९, बिहीबार
सञ्चार सचिवको रोजाइमा नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याक, के छ सुविधा ?
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालले मोबाइलमा कुराकानी गर्न तथा इन्टरनेट चलाउन ५९९ रुपैयाँको प्याक लिने गरेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको छलफलमा डा. अर्यालले मोबाइलमा कुराकानी गर्न तथा इन्टरनेट चलाउन मासिकरुपमा ५९९ रुपैयाँको प्याक लिने गरेको बताएका हुन्।

डा. अर्यालले नेपाल टेलिकमले पोस्टपेड सिमका लागि रेन्टलसहित उपलब्ध गराउँदै आएको ५९९ रुपैयाँ प्याक खरिद गरेर मोबाइल प्रयोग गर्दै आइरहेका छन्।

समितिका सदस्यहरुले निःशुल्क टेलिफोन सेवा उपलब्ध गराउनु पर्ने प्रश्नको जवाफमा उनले आफूले प्रयोग गर्दै आएको प्याकको बारेमा जानकारी दिएका हुन्।

‘नेपालमा विगतको जस्तो टेलिफोन सेवा महँगो छैन। ग्राहकका सूविधाका लागि दूरसञ्चार सेवा प्रदायकहरुले प्याक उपलब्ध गराउँदै आएका छन्,’ डा. अर्यालले भने, ‘प्याक प्रयोग गरेमा सस्तोमा टेलिफोन सेवा उपयोग गर्न सकिन्छ।’

सचिवले लिने प्याक कस्तो हो ?

सञ्चार सचिव डा. अर्याल नेपाल टेलिकमको पोस्टपेड सिम प्रयोग गर्छन्। नेपाल टेलिकमले पोस्टपेड ग्राहकका लागि रेन्टल शुल्क सहित दुई प्रकारको प्याक उपलब्ध गराउँदै आएको छ। जसमा १ नम्बरमा रेगुलर कम्बो र २ नम्बरमा सजिलो अनलिमिडेट रहेको छ।

सचिवले १ नम्बरको विकल्पमा उपलब्ध रेगुलर कम्बो प्याक लिने गरेका छन्। रेगुलर कम्बोमा पनि ४ प्रकारका प्याक उपलब्ध छन्। ती मध्येमा ३ नम्बरमा उपलब्ध प्राइम प्याक सचिवले खरिद गर्ने गरेका छन्। उनले प्रयोग गर्ने प्राइम प्याकको शुल्क ५९९ रुपैयाँ छ। जसमा ४५० मिनेट एनटीसीमा र ५० मिनेट अन्य नेटवर्कमा कल गर्न सकिन्छ। र, ६ जीबी डाटा र २०० ओटा एसएमएस पठाउन सकिन्छ।

समितिको बैठक पछि संचार सचिव अर्याललाई टेक्नोलोजीखबरले ५९९ रुपैयाँको प्याकले पुग्छ भन्ने प्रश्न सोधेको थियो। ‘प्याक पर्याप्त हुन्छ,’ उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘अपुग अवस्थामा थप प्याक लिने गरेको छु।’ साथै उनले कहिलेकाँही ७९९ रुपैयाँको प्याक लिने पनि बताए।

७९९ रुपैयाँको प्याक सजिलो अनलिमिटेड अन्तर्गत पर्छ। यसमा एनटीसीमा अनलिमिटेड फोन कल र अन्य नेटवर्कमा ५०० मिनेटसम्म कल गर्न सकिन्छ। साथै प्रत्येक दिन १ जीबी डाटा र सबै नेटवर्कमा २०० वटा एसएमएस पठाउन सकिन्छ।

नेपाल टेलिकमको प्याक लिनका लागि स्टार१४१५ह्यास डायल गर्नुपर्ने हुन्छ।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...