प्र्यांकको नाममा एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | १० श्रावण २०७९, मंगलवार
प्र्यांकको नाममा एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

प्र्यांकको नाममा एसिड हानिदिने भन्दै सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको साबिक देउराउली गाविस-४ घर भई हाल नवलपरासीको (बर्दाघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल छन् ।

प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा साइबर व्यूरोबाट खटेको प्रहरी टोलीले साउन ९ गते कावासोती नवलपरासीबाट भुसाललाई पक्राउ गरेको हो। भुसालले बाटोमा हिडिरहेकी एक महिलासँग भएको पैसा, मोबाइल, गहना नदिएमा एसिड हान्दिन्छु भन्दै प्र्यांकको नाममा अमानवीय व्यवहार गरेका थिए। भुसाल ‘बदमास केटा’ नामक युट्युब च्यानल’ का सञ्चालक हुन्।

उनले महिलामाथि अति सम्वेदनसिल वस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट र अपलोड गरेको प्रहरीको आरोप छ।

भुसालले बाटोमा हिडिरहेकी एक महिलालाई “साथमा भएको पैसा, मोबाइल र गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु” भनेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

एसिड जस्तो अति सम्वेदनसिल पदार्थ प्रयोग गर्छु भन्दै समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाएर अपलोड गरेको आरोपमा प्रहरीले भुसाललाई पक्राउ गरेको हो । भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भएको छ ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट साउन १० गते दिन ७ म्याद थप अनुमति लिई अनुसन्धान थालेको साईवर ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक पशुपति कुमार रायले जनाएका छन् । युट्युवर भुसालमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार