
काठमाडौं ।
नेपाल प्रहरीको फरेन्सिक ल्याबले बजेट तर्जुमामा अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गरिरहेको संसदीय समितिलाई अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसम्बन्धी प्रतिवेदन बुझाएको छ।
अर्थ मन्त्रालयले बजेट तर्जुमाको दिनको फुटेज डिलिट भइसकेको भन्दै समितिलाई रेकर्डिङ सिष्टम नै बुझाएको थियो। उक्त डिभाइस रिकभरका लागि समितिले साउन ४ गते ल्याबमा पठाएको थियो। समिति सचिव सुरेन्द्र अर्यालकाअनुसार उक्त प्रतिवेदन प्राप्त भएको छ। सिलबन्दी रूपमा प्राप्त प्रतिवेदन मङ्गलबार बिहान बस्ने समिति बैठकमा खोलिनेछ।
राजनीतिक नेतृत्व र कर्मचारीको बयानमा कुनै ठोस तथ्य फेला नपारेको समितिले फुटेजको निष्कर्षमा आधारित भएर थप अनुसन्धान बढाउने तयारीमा छ।
समितिले पहिलो बैठकबाटै मन्त्रालयसँग जेठ १४ गते बजेट तर्जुमा कक्षको फुटेज मागेको थियो। दुई पटकसम्मको ताकेतामा अर्थले समितिलाई अन्य महिनाको फुटेजमात्र दिएको थियो। पुनः ताकेतापछि सीसीटीभी सम्बद्ध सबै सिष्टम नै समितिलाई उपलब्ध गराएको हो। डिभाइस प्राप्त भएपछि समितिले विषयविज्ञसँग परामर्श गरेर निर्णय गरेको हो। आइतबार समितिले सिंहदरबारका दुई मूल प्रवेशद्वारको फुटेजसमेत माग गरेको थियो।
प्रकाशित: १० श्रावण २०७९, मंगलवार