
काठमाडौं ।
कामलाई छिटो, छरितो र पारदर्शी बनाउने गरी सरकारी कार्यालयमा एकै प्रकृतिका कार्य एउटै सूचना प्रविधि मार्फत सञ्चालन हुने भएको छ।
सूचना प्रविधि विभागले साउन महिनाभित्र सरकारी केन्द्रीय कार्यालय सिंहदरबारभित्रका कार्यालयमा र माग भएका बाहिरी स्थानमा पनि उक्त प्रणाली कार्यान्नवयनमा लाने भएको हो।
चालु आर्थिक वर्षमा सबै सरकारी कार्यालयमा विद्युतिय प्रणाली लागु गर्ने र नागरिक बडापत्र पनि विद्युतिय उपकरणद्धारा सञ्चालित गर्न बजेट छुट्टाइएकाले कार्यान्यनका लागि अघि बढेको सूचना प्रविधि विभागका प्रवक्ता लोकराज शर्माले जानकारी दिए।
टेक्नोलोजिखबरसँग कुरा गर्दै उनले भने, “अहिले सञ्चार मन्त्रालयका सबै कार्यालयमा कार्यान्वय भएको सरकारी ई सेवासबै कार्यालयमा एउटै सूचना प्रविधि, विद्युतिय हाजिर, कार्य, तोक आदेश दिने, व्यवस्थित अभिलेख राख्ने, बिदा र काजसम्बन्धी कार्य, जिन्सी व्यवस्थापनसम्बन्धी कार्य, सम्पत्ति विवरण भर्ने र सोको व्यवस्थापन गर्ने कार्य गर्दै जाने योजना रहेको छ ।”
सर्वसाधारणका लागि समेत ई- प्रद्धति लागु भएको जानकारी दिदै सूचना प्रविधि विभागका प्रवक्ता लोकराजले ई सेवा लागु गर्ने भएपछि प्राविधिक तालिमको कमी र सुरक्षामा चेतावनीले गर्दा कार्यान्वयनमा समस्या देखिएकाले साउनको महिनामा सिंहदरबारका कार्यालयमा लागु भएपछि कर्मचारी मुल्यांकन समेत एकद्धार प्रणाली सूचना प्रविधी मार्फत हुने उल्लेख गरे।
नेपाल सरकारले नागरिकलाई प्रदान गर्ने धेरैजसो सेवा-सुविधाहरु अनलाईन-ईन्टरनेट मार्फत प्रवाह भैरहेकामा दुर्गम एवं ग्रामीणस्तरमा सूचना प्रविधिको सहज पहुँच स्थापना नभएको र सूचना प्रविधिको प्रयोग गर्नसक्ने दक्ष जनशक्ति पनि उपलव्ध नभएको अवस्थामा सरकारी सेवाहरु सूचना प्रविधिको माध्यमवाट नागरिक समक्ष पुर्याउनको लागि स्थानीय सरकार (गाऊँपालिका, नगरपालिका) सँगको सहकार्यमा एकीकृत सूचना प्रविधि सेवा केन्द्र स्थापना गरी केन्द्र मार्फत नागरिकलाई सहज एवं पारदर्शीरुपमा सेवा प्रदान गर्न समेत लागि परेको सूचना प्रविधि विभागले जनाएको छ।
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार