
काठमाडौं ।
सरकारले साउनदेखि सिंहदबारभित्रका कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउने गरी एकै प्रकृतिका कार्य एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गर्न लागिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालयअन्तर्गतका सूचना प्रविधि विभाग, मुद्रण विभाग, सूचना विभाग र प्रमाणीकरण नियन्त्रणको कार्यालय तथा हुलाक सेवा विभागमा भने यस अगाडि नै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा आइसकेको छ।
सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले साउनदेखि सिंहदरबारभित्रका सबै कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा आउने जानकारी दिए। उनका अनुसार पहिलो चरणमा साउनभित्र सिंहदरबारभित्रका सबै कार्यालयबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा आउने र दोस्रो चरणमा सिंहदरबार बाहिरका कार्यालयमा पनि सेवा विस्तार गर्दै जाने योजना छ ।
उनले भने, “एकीकृत कार्यालय व्यवस्थापन प्रणालीअन्तर्गत पहिलो चरणमा दर्ता, चलानी, टिप्पणी र ई–हाजिरी कार्यलाई पूर्ण रूपमा विद्युतीय माध्यममा सञ्चालन गरिनेछ। सो कार्य साउन महिनाभित्र सञ्चालन भइसक्नेछ।”
यो प्रणाली कार्यान्वयन भएपछि विद्युतीय माध्यमबाट तत्काल चिठीपत्र पुग्ने, चिठीपत्र पुर्याउन जनशक्तिको आवश्यकता नपर्ने र कार्यालयको आर्थिक भार कम हुने विश्वास गरिएको छ । यस प्रणालीमार्फत क्रमिक रूपमा सरकारी कार्यालयमा सञ्चालनमा रहेको तोक आदेश दिने, व्यवस्थित अभिलेख राख्ने, बिदा र काजसम्बन्धी कार्य, जिन्सी व्यवस्थापनसम्बन्धी कार्य, सम्पत्ति विवरण भर्ने र सोको व्यवस्थापन गर्ने कार्य गर्दै जाने योजना रहेको छ ।
त्यस्तै कार्यसम्पादन मूल्याङ्कन, पत्र तयार गर्ने, नियुक्ति, काज सरुवा, रमाना र पदस्थापन गर्ने, कार्यान्वयन योजना तयार गर्ने, प्रगति भर्ने, प्रगति प्रतिवेदन तयार गर्ने, समिति गठन र बैठक व्यवस्थापन गर्ने, कार्यसम्पादन करारसम्बन्धी कार्य एउटै प्रकृतिको गर्न विभागले नेपाल सरकारको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका तयार गरेको छ । उक्त सबै कार्य गर्न सरकारी कार्यालयका अधिकारीले विद्युतीय हस्ताक्षरको प्रयोग गर्नुपर्ने नेपाल सरकारको एकीकृत कार्य व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनमा उल्लेख गरिएको छ ।
एकीकृत कार्यालय व्यवस्थापन प्रणालीका लागि विभागले सम्बन्धित कार्यालयका कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिसकेको छ। विभागले सबै सरकारी कार्यालयलाई एडमिन युजर र पासवर्ड प्रदान गरिएको छ । एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन गराउने कार्यमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काम गरिरहेको उनले बताए।
सरकारी कार्यालयको कामलाई कागजातरहित विद्युतीय सेवामार्फत सुशासन अभिवृद्धि गर्नका लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिएको हो। अन्तर्राष्ट्रियस्तरमा पनि सबै कार्यालयमा एउटै विधिमा चल्ने गरिएको र नेपालमा पनि सोही प्रणाली पूर्ण रूपमा सञ्चालन गर्न लागिएको हो । गोरखापत्रबाट
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार