
काठमाडौं ।
स्मार्टफोन मानिसहरुको दैनिकी भइसकेको छ। स्मार्टफोनको आगमनसँगै मानिसको दैनिकी धेरै सहज भइसकेको छ। स्मार्टफोनको प्रयोग कुराकानी तथा म्यासेज गर्नमा मात्र सिमित छैन। कम्प्युटरबाट गरिने धेरै काम स्मार्टफोनबाट गर्न सकिन्छ।
स्मार्टफोनबाट बैंक खातामा रहेको पैसा पठाउने, सामान किन्ने लगायत धेरै काम गर्न सकिन्छ। धेरै मानिसले स्मार्टफोनबाट मोबाइल बैंकिङ प्रयोग गर्छन्।
यस्तोमा मोबाइल फोन चोरी भयो वा हरायो भने मोबाइल खातालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयको आज हामी जानकारी दिन गइरहेका छौं।
मोबाइल बैंकिङ बन्द गर्ने तरिका
मोबाइल फोन चोरी वा हराएमा सबैभन्दा पहिला आफ्नो मोबाइल सेवा प्रदायकको कस्टमर केयर सेन्टरमा फोन गरेर मोबाइल नम्बर र सिम ब्लक गर्न सकिन्छ।
कस्टमर केयरको सेन्टरमा फोन गरेर एनसेल आजियाटा र स्मार्ट टेलिकमको सिम नम्बर बन्द गर्न सकिन्छ। सेवा बन्द गर्नका लागि कस्टमर केयर सेन्टरका प्रतिनिधिहरुले प्रयोगकर्ता पूष्टी गर्न सक्कली डकुमेन्टको विवरण माग गर्छन्। उक्त विवरण उपलब्ध गराएपछि टेलिकम सेवा प्रदायकले हराएको मोबाइलमा प्रयोग भएको सिम बन्द गरिदिन्छन्।
सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमको हकमा भने कस्टमर केयरमा फोन गरेर सिम बन्द गर्न सकिँदैन। यसका लागि नजिकैको टेलिकम कार्यालयमा पुगेर सक्कली डकुमेन्ट देखाए पछि मात्र सिम बन्द गर्न सकिन्छ। साथै स्टार१४१५ह्यास डायर गरेर त्यहाँ बताइएको विवरण अनुसार सेक्युरिटी पिन राखेर पनि नम्बर बन्द गर्न सकिन्छ।
मोबाइल बैंकिङबाट कुनै पनि कारोबार गर्नका लागि ओटीपी (वान टाइम पासवर्ड) आवश्यक पर्छ। उक्त ओटीपी मोबाइल बैंकिङ सञ्चालन गरेको नम्बरमा आउँछ। सिम नम्बर ब्लक गरेपछि ओटीपी पिन प्राप्त हुँदैन।
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार