
काठमाडौं ।
चिनियाँ अन्वेषकहरूले क्षुद्रग्रह पत्ता लगाउन र ट्र्याक गर्न नयाँ विधिमा काम गरिरहेका छन्। यसले अन्तरिक्ष चट्टानको कुनै ठूलो टुक्रा पृथ्वीको लागि खतरा छ कि छैन भनेर जान्न मद्दत गर्नेछ।
यस विधिमा, एस्टरोयड्स अर्थात क्षुद्रग्रहहरूबाट सङ्केतहरू पुनः प्राप्त गर्न र तिनीहरूले हाम्रो ग्रहलाई असर गर्न सक्छन् कि गर्दैनन् भनी निर्धारण गर्नका लागि २० भन्दा बढी ठूला राडार एन्टेनाहरूको लहर जोडिँदै छन्।
केही चिनियाँ विश्वविद्यालयहरू यस परियोजनामा संलग्न छन्। यसबारे विस्तृत विवरण पहिलो पटक चीनको विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक समाचार पत्र – विज्ञान तथा प्रविधि दैनिकमा प्रकाशित भएको थियो।
चिनियाँ मन्त्रालयका अनुसार यो आयोजनाको नाम चाइना फुयान हो र अङ्ग्रेजीमा यसलाई– कम्पाउण्ड १ भनिनेछ। बेइजिङ इन्स्टिच्युट अफ टेक्नोलोजीले यस आयोजनाको नेतृत्व गरिरहेको छ।
सिग्नल बाउन्सिङका लागि चयन गरिएका क्षुद्रग्रहहरू पृथ्वीबाट ९३ मिलियन माइल (१५० करोड किलोमिटर टाढा रहेका छन्।
स्पेस डटकमको रिपोर्टअनुसार, परियोजना अन्तर्गत दुईओटा एन्टेना दक्षिणी चीनको चोङकिङको एक साइटमा निर्माण गरिएको छ र सेप्टेम्बरमा तिनीहरूको परीक्षण हुनेछ। यदि परीक्षण सफल भयो भने, त्यसपछि तिनीहरूलाई संचालन गरिनेछन्। एन्टेनाको व्यास ८२ देखि ९८ फिट हुनेछ।
बेइजिङ इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष लङ टेङले ग्लोबल टाइम्सलाई बताएअनुसार यो परियोजनाले देशको त्यो आवश्यकताहरू पूरा गर्नेछ, जसमा पृथ्वी नजिकको सुरक्षा र क्षुद्रग्रहको निर्माण सम्बन्धी अनुसन्धान समावेश छ। यो प्रणाली पृथ्वीको कक्षमा रहेका स्याटेलाइटहरु र त्यसका भग्नावशेषलाई ट्र्याक गर्न पनि प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन्।
यसअघि गत अप्रिलमा, ग्लोबल टाइम्सले देशको अन्तरिक्ष एजेन्सीले नयाँ निगरानी र रक्षा प्रणाली विकास गरिरहेको रिपोर्ट गरेको थियो। यसमा जानाजान क्षुद्रग्रहसंग एक अन्तरिक्ष यान ठोक्काएर परीक्षण गरिनेछ। रिपोर्टहरूले उल्लेख गरेअनुसार नयाँ मिसन २०२५ को सुरुमा खतरनाक क्षुद्रग्रहलाई आक्रमण गर्न र त्यसको कक्ष परिवर्तन गर्न लन्च गरिनेछ।
प्रकाशित: ५ श्रावण २०७९, बिहीबार