
काठमाडौं ।
नेपाल दुरसञ्चार प्राधिकरणले पछिल्लो समय थप ९ जिल्लामा इन्टरनेट पुगेको जनाएको छ।
प्राधिकरणले बुधबार जारी गरेको सूचनानुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी देशभरका ९ ओटा जिल्लाका नगरपालिका, गाउँपालिका र वडा लगायतमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराएको हो।
प्राधिकरणकाअनुसार चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाची र प्यूठान जिल्लाका नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरुका साथै सामुदायिक माध्यमिक विद्यालय, अस्पताल, सामुदायिक स्वास्थ्य केन्द्र तथा संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याएको हो।
ती जिल्लाहरुमा २ वर्षसम्म प्राधिकरणले निशुल्क सेवा उपलब्ध गराउने गरी सेवा सुविसु केबलनेट प्रालि र टेकमाइण्ड्स प्रालिलाई जिम्मा दिएको थियो।
उक्त जिल्लाहरुमा पुगेको सो नेटवर्कमा कम्तिमा १ एमबीपीएसको इन्टरनेट सेवा उपलब्ध हुने बताईएको छ।
यदि कुनै स्थान वा कार्यालयहरुमा सेवा नपुगेको भएमा प्राधिकरणलाई जानकारी दिन समेत भनिएको छ।
यसका साथै उक्त जिल्लाका सर्वसाधारणहरुले समेत आफूलाई आवश्यकताअनुसार सेवा प्रदायकबाट ब्रोडब्याण्ड सेवा लिन सकिने प्राधिकरणले जनाएको छ।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार