काठमाडौं ।
सरकारले यसअघि प्रिमियम स्मार्टफोन आयातमा लगाउँदै आएको प्रतिबन्धलाई थप निरन्तरता दिएको छ। यसका साथै अब ३०० डलर अर्थात आजको मूल्यमा करिब ३८ हजार ४०० रुपैयाँ (नेपाल राष्ट्र बैंकको दरअनुसार) मूल्य बराबरका फोनहरुको आयातमा प्रतिबन्ध थप भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित निरन्तरता दिएको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा नयाँ सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्मका लागि सो प्रावधानलाई निरन्तरता दिएको हो।
नयाँ राजपत्रअनुसार अब ३०० डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ भने १५० सीसीभन्दा माथिका मोटरसाइकलमा पनि आयात रोक लगाईएको छ।
यसअघि ६०० डलर माथिको मोबाइल र २५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाइएको थियो।
मन्त्रालयले गत वैशाख १३ गते निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै सबै प्रकारका मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६०० डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो।
त्यस्तै, ३२ इन्चभन्दा ठूला रंगीन टीभी, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास पनि आयात प्रतिबन्धको सूचीमा छन्।
तर साउन १ गतेअगाडि नै आयातका लागि बैंकिङ्ग प्रकृयामार्फत पैठारी भईसकेका ३०० देखि ६०० डलरसम्मका मोबाइल फोनहरुमा भने यो व्यवस्था लागू नहुने जनाएको छ।
प्रकाशित: १ श्रावण २०७९, आईतवार