
काठमाडौं ।
ताइवानी कम्पनी गोगोरोले महिलाद्वारा महिलाकै लागि डिजाइन गरेको स्कूटर सार्वजनिक गरेको छ।
गोगोरो डिलाइट नामक उक्त स्कूटर महिला इन्जिनीयर, डिजाइनर र म्यानेजरहरुले महिला चालकका लागि महिलकै सोचअनुरुप डिजाइन गरेको डिजिटाइम्सले जनाएको छ।
गोगोरोका अनुसार ताइवानमा १ हजारमध्ये ६१७ जनाले स्कूटर प्रयोग गर्ने भएकाले यहाँको स्कूटरको घनत्व विश्वमै सबैभन्दा बढी रहेको छ। यसपछि भियतनाममा १ हजारमा ३ देखि ४ सय जनाले स्कूटर प्रयोग गर्ने बुझिएको छ।
तर गोगोरोका अनुसार ताइवानमा काम गर्ने उमेरका पुरुषको तुलनामा महिला धेरै भए पनि महिला स्कूटर चालक भने कम रहेको पाइएको छ।
गोगोरो डिलाइटको डिजाइन टोलीका अनुसार महिलाका लागि बनाइएको स्कूटर हलुका, स्टाइलिश र सुरक्षित हुनु जरुरी छ। उक्त स्कूटरको सार्वजनिक कार्यक्रम पनि महिला टोलीद्वारा नै गरिएको थियो।
गोगोरो डिलाइटको सिटको उचाई यो लाइनअपमै कम छ। कम्पनीका अनुसार ७२९ मिलिमिटरको उचाई सबैखाले महिलाका लागि उपयुक्त हुने भएकाले यस्तो बनाइएको हो।
प्रकाशित: ३१ असार २०७९, शुक्रबार