साइबर व्यूरो प्रोजेक्टमा दक्षिण कोरियाले नेपाल प्रहरीसँग सहकार्य गर्ने

  • Technology Khabar | २९ असार २०७९, बुधबार
साइबर व्यूरो प्रोजेक्टमा दक्षिण कोरियाले नेपाल प्रहरीसँग सहकार्य गर्ने

काठमाडौं ।

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र कोईका (कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी) नेपालका पदाधिकारीहरूबीच नेपाल प्रहरीको साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा मंगलबार सम्पन्न भएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइवर बुलिङ लगायतका साइबर अपराधहरु दिन प्रतिदिन बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाल प्रहरीको संस्थागत विकासका साथै साइबर अपराध नियन्त्रणका लागि थप टेवा पुग्ने बताए। साथै उनले नेपाल प्रहरी यस प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील र गम्भीर रहेको उल्लेख गरे।

प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसकिने उल्लेख गर्दै कोईकाको साइबर व्यूरो प्रोजेक्टसँग आपसी समन्वय र सहयोग आदान प्रदान गरी अगाडि बढ्न नेपाल प्रहरी तत्पर रहेको बताए। उनले परियोजनाहरूले आगामी दशकहरूमा साइबर अपराध अनुसन्धानको लागि बलियो आधार निर्माण गर्ने विश्वास समेत व्यक्त गरे।

सो अवसरमा कोईका नेपालका डेपुटी कन्ट्री डाइरेक्टर जोङ्ग सुङ्ग चोईले साइबर अपराध नियन्त्रण नेपालको लागि  ठूलो चुनौतीको विषय रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत आपसी समन्वय गरी काम गर्न आफूहरू तयार रहेको चर्चा गरे। साथै उनले नेपालमा पनि साइबरको माध्यमबाट वित्तिय अपराध, यौन उत्पीडन र हिंसालगायतका अपराध हुने गरेको पाइएकोले यस्ता अपराध न्यूनीकरणका लागि परियोजनाले जगको रूपमा काम गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने बताए।

कोईका नेपालका प्रोजेक्ट म्यानेजर गिबुम किमले साइबर परियोजना सम्बन्धी बिषयमा धारणा राखेका थिए भने उक्त कार्यक्रममा सोही प्रोजेक्टका साइबर सेक्युरिटी एक्सपर्ट योउनसिक जाङ्गले साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी गरेका कामहरू, साइबर व्यूरोको अवलोकन र विश्लेषणबाट देखिएका समस्या र सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु र कोईका नेपालका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच साइबर सुरक्षा सम्बन्धी छलफल समेत भएको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार