
काठमाडौं ।
हालै बाहिरिएका लाखौं दस्तावेजहरुले उबरलाई उच्च स्तरीय राजनीतिज्ञहरुले सहयोग गरेको खुलासा भएको छ।
ती दस्तावेजहरुमा इम्यानुयल म्याक्रों तथा ईयूका पूर्व कमिस्नर नीलि क्रोएसलगायतका राजनीतिज्ञले सहयोग गरेको उल्लेख छ।
यसबाहेक उबरका मालिकले प्रहरीले छापा मार्न नसकोस् भनेर कसरी ‘किल स्विच’ प्रयोग गर्न आदेश दिन्थे भन्ने पनि उल्लेख रहेको बीबीसीले जनाएको छ।
उबरले आफ्नो विगतका व्यवहार हालको जस्तो नभएको र हाल यो अलग्गै खालको कम्पनी भएको बताएको छ।
उबरको लीक भएका फाइलमा १ लाख २४ हजार रेकर्ड रहेका र तीमध्ये ८३ हजार ईमेल तथा १ हजार ओटा अन्य कुराकानीसँग सम्बन्धित दस्तावेज रहेका बीबीसीले उल्लेख गरेको छ।
ती दस्तावेजहरु सन् २०१३ देखि २०१७ सम्मका रहेका पाइएको छ।
ती दस्तावेजहरु पहिलो पटक द गार्जियनमा लीक भएको र पछि त्यहाँबाट इन्टरनेशनल कन्सोर्टियम अब इन्भेस्टिभगेटिभ जर्नलिस्ट्स तथा बीबीसी पानोरमा लगायत अन्य सञ्चार गृहहरुलाई उपलब्ध गराइएको थियो।
नयाँ खुलासामा यूरोपको ट्याक्सी उद्योगलाई ध्वस्त पार्न प्रतिवर्ष ९ करोड डलर खर्च गर्नेगरी उबरलाई सहयोग गर्न कसरी मित्रवत् राजनीतिज्ञहरुलाई भर्ना गरिएको थियो भन्नेसमेत समावेश छ।
प्रकाशित: २७ असार २०७९, सोमबार