
काठमाडौं ।
बीवाईडी विद्युतीय सवारीसाधन बेच्ने सन्दर्भमा टेस्लाभन्दा अगाडि आएको छ। कम्पनीले २०२२ को पहिलो छ महिनामा ईभी बिक्रीमा टेस्लालाई उछिनेको छ।
चिनियाँ कम्पनी बीवाईडीले ६ लाख ४१ हजार विद्युतीय सवारीसाधन बिक्री गरेको छ भने टेस्लाले ५ लाख ६४ हजार विद्युतीय सवारीसाधन बिक्री गरेको छ। कम्पनीले वार्षिक आधारमा ३०० प्रतिशत वृद्धि हासिल गरेको छ। यी सबै विवरण दुवै कम्पनीको फाइलिङमा दिइएको मिडियाहरुले उल्लेख गरेका छन्।
बीवाईडीको अङ्ग्रेजीमा अर्थ ‘बिल्ड योर ड्रीम’ भन्ने हुन्छ र कम्पनीले चीन र विश्वभर आफ्नो पकड बलियो बनाइरहेको छ। कम्पनीको मुख्यालय चीनको दक्षिणी भागमा रहेको गुआन्डोङ प्रान्तको शेन्जेन शहरमा अवस्थित छ।
अर्कोतर्फ, कोरोना महामारीको पुन: वृद्धिका कारण चीनमा रहेको कम्पनीको सांघाई कारखानामा उत्पादनमा कमी आएपछि टेस्लाको उत्पादन घटेको हो। यसबाहेक टेस्लाको नियामकहरूसँग पनि विवाद चलिरहेको छ जसका कारण कम्पनीले आफ्नो टेस्ला मोडल वाई र मोडल ३ रिकल गर्नु परेको छ।
लगभग ६० हजार टेस्ला कारहरूमा आपतकालीन कल प्रणालीको विफलताका कारण फिर्ता गर्नु परेको हो। जसका कारण कम्पनीको कार्यसम्पादन १८ प्रतिशतले घटेको छ। अर्कोतर्फ,बीवाईडीले ब्याट्री खण्डमा पनि ठूलो सफलता हासिल गरेको छ। कम्पनीले ईभी ब्याट्री बनाउने मामिलामा एलजीलाई उछिन्दै विश्वको दोस्रो ठूलो ईभी ब्याट्री निर्माता बनेको छ।
अप्रिल २०२२ देखि हालसम्म कम्पनीले आफ्नो कार्यसम्पादन सोही स्तरमा कायम राखेको छ। यो अप्रिलदेखि एलजी भन्दा अगाडि छ। पहिलो स्थान चीनको सीएटीएल कम्पनीको हो, जुन विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक हो।
ईभीको माग पनि विश्व बजारमा दिनप्रतिदिन बढ्दै गएको छ। जसका कारण कम्पनीहरुको कार्यसम्पादनमा समस्या पनि बढेको छ।
प्रकाशित: २६ असार २०७९, आईतवार