मकवानपुरको सबै स्थानीय तहबाट निःशुल्क ई–पासपोर्ट भर्ने व्यवस्था

  • Technology Khabar | २५ असार २०७९, शनिबार
मकवानपुरको सबै स्थानीय तहबाट निःशुल्क ई–पासपोर्ट भर्ने व्यवस्था

काठमाडौं ।

मकवानपुरको १० ‌ओटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) को निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेकाअनुसार जिल्ला प्रशासन कार्यालयमा ई–पासपोर्टका लागि अनलाइन फारम भर्नेको भीडभाड बढेको तथा निजीले मनलाग्दी रकम लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहको सहयोग र समन्वयमा स्थानीय तहमा ई–पासपोर्टका लागि निःशुल्क फारम भर्ने व्यवस्था मिलाइएको हो।

उनले अब जिल्लाको स्थानीय तहबाट निःशुल्क रुपमा ई–पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने बताए ।

जिल्लामा ई –पासपोर्ट को लागि दैनिक ९० र सातामा ५४० जनाले फारम भर्न सकिने बताउँदै समयमा स्थानीय तहमा कार्यालयमा पुगेर फारम भर्न सकिने जानकारी उनले दिए।

असार २१ गते जिल्लाको १० वटै स्थानीय तहमा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको बैठकमा स्थानीय तहमा ई–पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउनका लागि वातावरण मिलाइएको प्रजिअ पाण्डेले जानकारी दिए।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा ई–पासपोर्ट र परिचयपत्र बनाउनेको भीड लागि रहेकाले सो समस्या समाधानका लागि स्थानीय तहबाट ई–पासपोर्टको फारम भर्ने व्यवस्था मिलाइएको बताइएको छ । इन्टरनेटको व्यवस्था भएकाले घरबाटै फारम भर्न सकिने उनले बताए।

प्रकाशित: २५ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार