केयूको स्नातक आईटी र इन्जिनियरिङ अब सिन्धुली र विराटनगरमा पढ्न पाईने

  • Technology Khabar | २४ असार २०७९, शुक्रबार
केयूको स्नातक आईटी र इन्जिनियरिङ अब सिन्धुली र विराटनगरमा पढ्न पाईने

काठमाडौं ।

काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले सिन्धुली र विराटनगरमा आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने भएको छ।

विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि यी दुई स्थानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

बुधबार एक कार्यक्रमका बीच विश्वविद्यालयले सिन्धुली सामुदायिक टेक्निकल इस्टिच्युट र विराटनगर स्थित एस्पायर कलेजमा आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको छ ।

सो सम्झौताअनुसार सिन्धुली सामुदायिक टेक्निकल इस्टिच्युटमा ब्याचलर अफ टेक्निकल एजुकेसन इन्फरमेसन टेक्नोलोजी (बिटेक ईडी आईटी) र ब्याचलर अफ टेक्निकल एजुकेशन सिभिल इन्जिनियरिङ (बिटेक इडी सिभिल इन्जिनियरिङ) विषयको अध्यापन सुरु हुनेछ। यी दुवै विषयमा आगामी अगस्टबाट कक्षा सञ्चालन गर्ने र एउटा कक्षामा ३० जना विद्यार्थी भर्ना लिइने विश्वविद्यालयले जनाएको छ ।

यसैगरी विराटनगरमा रहेको एस्पायर कलेजले ब्याचलर अफ टेक्निकल एजुकेसन इन्फरमेसन टेक्नोलोजी (बिटेक ईडी आईटी) र ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटी (बीपीएच) मा ३०/३० जना विद्यार्थी भर्ना लिई यसै वर्षदेखि शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। बिटेक ईडी (आईटी) र बिटेक ईडी (सिभिल इन्जिनियरिङ) विश्वविद्यालयको स्कुल अफ एजुकेसन र ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटी (बीपीएच) स्कुल अफ म्यानेजमेन्टअन्तर्गतका विषय हुन् ।

कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र भौतिक व्यवस्थापन सम्बन्धी कार्यमा लाग्ने खर्च संस्थाले बेहोर्ने सम्झौतामा उल्लेख छ।

प्राचार्य वा डाइरेक्टर कोअर्डिनेटरको नियुक्ति काठमाडौं विश्वविद्यालयले गर्ने र निर्धारित शिक्षण शुल्कमध्ये प्रतिवर्ष भर्ना हुने ब्याच (समूह)का विद्यार्थीहरूबाट प्राप्त भएको शिक्षण शुल्कको २० प्रतिशत रकम ती संस्थाले काठमाडौं विश्वविद्यालयलाई बुझाउनुपर्ने छ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमलाई देशव्यापी बनाउने उद्देश्यले आङ्गिक तहमा सहकार्य र सम्बन्धनमा जाने कामको थालनी गरेको बताए।

प्रकाशित: २४ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार